सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियामा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘पिआर’ का कलाकार, निर्देशकद्वय शोभित बस्नेत, सन्तोष तिवारी र निर्माता रञ्जित शाह न्यूकेसल प्रस्थान गरेका छन् ।
मङ्गलबार साँझ हुने पिआरको तेस्रो प्रिमियर शोका लागि निर्देशकद्वय र निर्मातालगायत अन्य कलाकारहरु सिड्नीबाट न्यूकेसल प्रस्थान गरेका हुन् ।
सिड्नीस्थित दुई चलचित्र हलमा प्रदर्शन भएको पिआरले दर्शकको अत्याधिक साथ पाएपछि न्यूकेसलमा प्रिमियर शोक हुने लागेको निर्देशक बस्नेतले बताए ।

सिड्नीमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको उनको भनाइ छ । आज न्यूकेसलमा हुने पिआरको तेस्रो प्रिमियरमा पनि दर्शकको राम्रो उपस्थिति हुने अपेक्षा गरिएको छ ।
निर्माता शाहका अनुसार अन्य राज्य र शहरहरूबाट समेत प्रदर्शनका लागि माग बढिरहेको छ ।
यस फिल्ममा अष्ट्रेलियामा स्थायी आवास (पीआर) पाउन नेपाली विद्यार्थीहरूले व्यहोरेको संघर्ष, त्याग र पीडालाई यथार्थपरक रूपमा प्रस्तुत गरिएको छ ।




