काठमाडौँ । रूपन्देही कारागार आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली आएका छन् ।
सोमबार आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा पुगेको हो ।
कारागारको ब्लक नम्बर ४ मा रहेका लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार पुगेको हो ।
अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरूको अभाव रहेको टिप्पणी गरे ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता समेत रहेकी सदस्य थापाले क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदी बन्दी राखिनु नै मुख्य समस्या भएको बताइन् । कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको उल्लेख गरिन् । यद्यपि, रविलाई राखिएको ब्लकभित्र राम्ररी हावा पास हुने अवस्था नदेखिएको उनको भनाइ छ ।
थापाले भनिन्, ‘उहाँ बस्ने कोठामा पंखा छ । तर झ्यालहरू टालिएको रहेछ । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो । हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनुभएको छ ।’
यता, टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको थियो ।



