Wednesday, August 5, 2026
Zenith Migration Education
Wednesday, August 5, 2026

अमेरिकाको सख्त नीतिः लागूऔषध कार्टेललाई आतङ्ककारी ठहर

Zenith Migration Education

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकी मूलका लागूऔषध तस्कर समूहहरूमाथि सम्भावित सैन्य कारबाहीको विकल्पहरूबारे समीक्षा गरिरहनुभएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । यो पहल अमेरिकाद्वारा केही महिनाअघि यस्ता समूहहरूलाई ‘विदेशी आतङ्ककारी संगठन’ घोषणा गरेपछि अघि बढाइएको हो ।

न्यूयोर्क टाइम्स का अनुसार राष्ट्रपति ट्रम्पले पेन्टागनलाई ती कार्टेलहरू विरुद्ध आवश्यक सैन्य विकल्पहरू तयार गर्न निर्देशन दिएका छन् । द वाल स्ट्रीट जर्नल ले पनि राष्ट्रपति कार्यालयले विशेष सैन्य बलहरूको प्रयोग, खुफिया सहयोग र अन्य उपायहरूबारे योजना तयार गर्न आदेश दिएको उल्लेख गरेको छ । सम्भावित कुनै पनि कारबाही विदेशी साझेदारहरूसँग समन्वयमा गरिने बताइएको छ ।

यद्यपि, ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले प्रतिवेदनको औपचारिक पुष्टि नगरे पनि राष्ट्रपति ट्रम्पको प्रमुख प्राथमिकता अमेरिकाको राष्ट्रिय सुरक्षा रहेको स्पष्ट पार्दै, कार्टेल र आपराधिक गिरोहहरूलाई आतङ्ककारी संगठन घोषणा गर्नुको पछाडि यही उद्देश्य रहेको बताएका छन् ।

अमेरिकाले फेब्रुअरी महिनामा भेनेजुएलाको ट्रेन दे अरागुवा, मेक्सिकोको सिनालोआ कार्टेल लगायत आठवटा लागूऔषध तस्कर समूहहरूलाई विदेशी आतङ्ककारी समूहको सूचीमा राखेको थियो । पछिल्लो समय थप रूपमा कार्टेल अफ द सनस नामक समूहलाई पनि सूचीमा समावेश गरिएको छ, जुन समूहमाथि विगत दुई दशकदेखि अमेरिका तर्फ ठूलो मात्रामा लागूऔषध पठाएको आरोप छ ।

संयुक्त राज्यले भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोलाई उक्त समूहको नेतृत्वकर्ता मानेको छ, यद्यपि भेनेजुएलाले यस आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै ‘अनर्गल आरोप’ भनेको छ ।

राष्ट्रपति ट्रम्पले यही वर्ष जनवरी २० तारिखका दिन कार्यभार सम्हालेपछि, लागूऔषध तस्करीलाई राष्ट्रिय सुरक्षामा गम्भीर खतरा ठहर गर्दै सम्बन्धित समूहहरूलाई आतङ्ककारी संगठनको सूचीमा राख्ने प्रक्रिया सुरु गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हालैको एक अन्तर्वार्तामा, “अब यी समूहहरूलाई केवल आपराधिक गिरोहका रूपमा होइन, सशस्त्र आतङ्ककारी संगठनका रूपमा हेर्न आवश्यक छ,” भन्दै, कानून कार्यान्वयनमात्र होइन, अब राष्ट्रिय सुरक्षा तहमा प्रतिक्रिया आवश्यक रहेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले मार्च महिनामा मेक्सिकोका कार्टेलहरूमाथि कडा कारबाही गर्ने घोषणा गर्दै ती समूहहरूले अमेरिका तर्फ लागूपदार्थ तस्करी गर्नुका साथै हिंसा र आपराधिक क्रियाकलाप फैलाएको आरोप लगाएका थिए ।

यसबीच, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकाको सम्भावित सैन्य हस्तक्षेपबारे चिन्ता व्यक्त गर्दै, “हामी सहकार्य गर्न तयार छौं, संवादमा प्रतिबद्ध छौं, तर हाम्रो भूमि भित्र विदेशी सैनिक उपस्थितिलाई कुनै हालतमा स्वीकार गरिँदैन,” भन्दै स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

राष्ट्रपति शेनबाउमले हालसम्म लागूऔषध तथा आप्रवासन समस्या समाधानका लागि अमेरिकी प्रशासनसँग निरन्तर संवाद गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु