Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

कैलाली कारागार: परिस्थिति प्रहरीको नियन्त्रणमा

Zenith Migration Education

काठमाडौँ । धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए । 

“कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ”, उनले भने,“झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उहाँहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ ।” 

घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।

कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झडपका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको थियो । घटनामा घाइते भएका ४४ कैदीबन्दीको सेती प्रादेशिक अस्पताल नजिकै  कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।

 यसअघि बिहीबार राति पनि उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था समान्य बनेको थियो । 

कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुन:शुक्रबार राति आपसमा ढुंगामुढा हानाहान भएको बताए । यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो । 

कैदीबन्दीको सरुवाबारे मतऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । एकसय ५० जना क्षमताको कैलाली कारागारमा हाल छ सय ८० जना  रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु