Monday, September 28, 2026
Zenith Migration Education
Monday, September 28, 2026

राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदामा यःमरी सूचीकृत

Zenith Migration Education

काठमाडौँ । नेपाल सरकारले नेवार समुदायको मौलिक परिकार तथा पर्व ‘यःमरी (पुन्ही)’ लाई राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यःमरीलाई राष्ट्रिय सम्पदाको मान्यता दिइएको औपचारिक जानकारी गराएको हो ।

‘नेपाल सरकारको साउन २३ गतेको मन्त्रीस्तरीय निर्णयबाट यो घोषणा गरिएको हो । ललितपुरका नेवार समुदायले गरेको प्रस्तावका आधारमा यःमरीलाई अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीकृत गरिएको हो ।’ मन्त्रालयका सह प्रवक्ता तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस मन्त्रालयले विभिन्न समुदायहरूको पहिचान एवम् अभिलेखीकरणमार्फत् अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कार्यलाई निरन्तरता दिन अमूर्त सांस्कृतिक सम्पदाहरूको राष्ट्रिय सूचीकरण कार्य थालनी गरेको छ ।’

यो निर्णय ‘अमूर्त सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१’ मा भएको प्रावधानअनुसार गरिएको हो । यो सूचीकरणसँगै यःमरीको संरक्षण, प्रवर्धन र यसको मौलिकतालाई जीवन्त राख्न थप बल पुग्ने विश्वास गरिएको छ ।

यःमरी चामलको पिठोबाट बनाइने एक विशेष परिकार हो, जसमा चाकु र खुवा जस्ता गुलिया वस्तु भरिन्छ । यो विशेष गरी धान्य पूर्णिमाका दिन मनाइने ‘यःमरी पुन्ही’ पर्वको मुख्य आकर्षण हो, जसले अन्न र सहकालको प्रतीकको रूपमा सांस्कृतिक महत्त्व राख्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु