काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाको पछिल्लो वरीयतामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ठूलो फड्को मारेको छ । नेपाल अगस्ट २०२५ को वरीयतामा १३ स्थान उक्लदै ८७औं स्थानमा आइपुगेको छ ।
अघिल्लो महिना एएफसी वुमन्स एसिया कप छनोट खेलेको नेपालले लाओसलाई ९–०, श्रीलंकालाई ८–० ले पराजित गर्दा उज्वेकिस्तानसँग ३–३ गोलको बराबरी खेलेको थियो । पेनाल्टी सुटआउटमा भने नेपाल ४–२ ले पराजित भएको थियो ।
अघिल्लो महिना नेपाल सयौं स्थानमा थियो । यसअघि नेपालको उच्च वरीयता २०१७ मा ९१औं स्थानको थियो ।
दक्षिण एसियाको शीर्ष टोली भारत सात स्थान माथि उक्लदै ६३औं स्थानमा आइपुगेको छ । नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहदा बंगलदेश तेस्रो स्थानमा छ । एसियाको वरीयतामा भारत १२औं स्थनमा छ भने नेपाल १६औं स्थानमा आइपुगेको छ ।
बंगलादेशले भने २४ स्थान फड्को मार्दै १०४औं स्थानमा छ । यो महिना बंगलादेश सबैभन्दा ठूलो फड्को मार्ने महिला टोली बन्यो ।
नेपाल एसियन कपमा छनोट हुन असफल हुँदा भारत र बंगलादेशले एसियन कपमा स्थन पक्का गरेका थिए ।
दक्षिण एसियामा पाकिस्तान १५४औं स्थानमा, श्रीलंका १६१औं र भुटान १६३औं स्थानमा छन् । माल्दिभ्स १६५औं स्थानमा रहेको छ ।
विश्व वरीयताको शीर्ष स्थानमा स्पेन, दोस्रो स्थानमा अमेरिका, तेस्रो स्थानमा स्वीडेन, चौथो स्थानमा इंग्ल्यान्ड र पाँचौ स्थानमा जर्मनी छन् ।
एसियाको शीर्ष वरीयतामा जापान, दोस्रो स्थानमा उत्तर कोरिया र तेस्रो स्थानमा अष्ट्रेलिया छन् ।



