काठमाडौँ । ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि बुधबार श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् । प्रहरी परिसर पुगेको श्रीवास्तवलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।
सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
दीपेन्द्र अग्रवालले मिता तथा ज्योतिसहित विभिन्न १५ व्यक्तिका नाममा सेयर कारोबार गर्दै आएका छन् । उनले ती व्यक्तिका नाममा आफैं सेयर किन्ने र आफैंले बिक्री गर्ने गर्दै आएको धितोपत्र बोर्डको अनुसन्धानमा देखिएको छ । साथै, अग्रवालले ती १५ जनाबीच सेयर खरिद–बिक्री गरेर मूल्य बढाउने र समाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई किन्न लगाउने गर्दै आएको बोर्डको अनुसन्धानको निष्कर्ष छ ।
प्रहरीका अनुसार उक्त ब्रोकर कम्पनीले उजुरीकर्ता दुईको कुल ११ करोड ५५ लाख रुपैयाँ सेयर कारोबार बापत फिर्ता नगरेको भन्दै ठगीको आरोप लगाइएको हो ।
उजुरी परेपछि कार्यलय पुगेका श्रीवास्तव उपर प्रहरीले आवश्यक अनुसन्धान गर्ने जनाएको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि कानुनी प्रक्रिया अगाडि बढेको छ ।



