काठमाडौँ । गृह मन्त्रालयले दुई सहसचिवको जिम्मेवारीमा हेरफेर गरेको छ । मन्त्रालयले नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत सहसचिव आनन्द काफ्लेलाई रिक्त रहेको सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारीसहित मन्त्रालयको प्रवक्ता नियुक्त गरेको हो ।
यसअघि सो जिम्मेवारीमा रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकका रूपमा खटाइएपछि प्रवक्तासहितको उक्त महाशाखा खाली रहँदै आएको थियो ।
सुरक्षा तथा समन्वय महाशाखाले मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सूचना समन्वय तथा विश्लेषण, सीमा तथा अध्यागमन प्रशासन, साथै स्थानीय प्रशासन तथा प्रदेश समन्वयसम्बन्धी कार्यहरू हेर्ने जिम्मेवारी बोकेको छ ।
यस्तै, केही दिन अघि मात्र अध्यागमन विभागबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गोविन्द प्रसाद रिजाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उक्त महाशाखाले विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ, शान्ति प्रवर्धन, विपद् पूर्व तयारी तथा प्रतिकार्य / राहत तथा तथ्यांक व्यवस्थापन जस्ता कार्यहरू सम्हाल्दै आएको छ ।
पछिल्लो समय गृह प्रशासनमा खटनपटनमा ढिलाइ हुनुका साथै कार्यक्षमता र वरिष्ठतालाई बेवास्ता गरिएको भन्ने टिप्पणीहरू पनि सार्वजनिक रूपमा सुनिन थालेका छन् । मुलुकको शान्ति सुरक्षाजस्तो अति संवेदनशील र जिम्मेवार क्षेत्र सम्हाल्ने मन्त्रालयले यस्ता विषयप्रति गम्भीर ध्यान दिनुपर्ने सरोकारवाला अधिकारीहरू बताउँदै आएका छन् ।



