मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।
उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनसहित संविधानको धारा १६८ (२) बमोजिम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् । मुख्यमन्त्री बन्नका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमती प्रदेशमा नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसद रहेका छन् ।
दाबी पत्रमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापलिया संयुक्त हस्ताक्षर गरेका छन् । यसअघि मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुख कार्यालयले मङ्गलबार दिउँसो २ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।




