Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

नेपालमा बहुविवाहलाई वैधानिकता दिने प्रस्तावविरुद्ध नारी आवाज बुलन्द पार्दै रञ्जु वाग्ले

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । नेपालमा बहुविवाहलाई वैधानिकता दिने प्रस्तावविरुद्ध गैरआवासीय नेपाली संघ (अष्ट्रेलिया)को नारी निकुञ्जको राष्ट्रिय संस्थापक तथा वरिष्ठ समाजसेवी रञ्जु वाग्ले थापाले विरोध जनाएकी छन् ।

आइतबार सिड्नीमा हिन्दु नारीहरुको माहान पर्व हरितालिका तीजका अवसरमा आयोजित कार्यक्रममा नारी निकुञ्जका संस्थापक वाग्ले महिला हक, अधिकार र समानताको सशक्त आवाज उठाउँदै नेपालमा बहुविवाहलाई वैधानिकता दिने प्रस्तावविरुद्ध खुल्ला विरोध गर्दै सम्पूर्ण महिलाहरुलाई जागरुक हुन आह्वान गरेकी हुन् ।

नेपालमा मुलुकी अपराध संहिता लागू भएको दिन २०७५ भदौ १ गतेदेखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको हो ।

विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागिएको हो । कानुन मन्त्रालयले यसको मस्यौदा तयार गरिसकेको छ ।

नेपालमा दोस्रो विवाह हुनै नसक्ने कानुनी अवस्थाले महिला पीडित हुन पुगेकाले कानुन संशोधन गर्ने तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

मौजुदा कानुनमा विवाह भइसकेको अवस्थामा अर्की महिलाबाट बच्चा जन्मिए दुवै पुरुष र महिला बच्चाका लागि बाबु–आमा हुने, बच्चाले पाउने सबै अधिकार पनि बाबु–आमाबाट पाउने तर उनीहरूको सम्बन्ध पति–पत्नीको हुन नसक्ने प्रावधान छ । बहुविवाह गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने पनि कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु