सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सदस्यमा निर्वाचित अवानी पौडेलले नयाँ नेतृत्वसँग सहकार्य गर्न तत्पर रहेको बताएकी छन् ।
गत जुलाई २६ मा सम्पन्न भएको एनआरएनए निर्वाचनबाट पौडेल एनसीसी सदस्यमा निर्वाचित भएकी थिइन् । उनले टिम एमताबाट उम्मेदवारी दिइकी थिइन् ।
नवनिर्वाचिन एनसीसी सदस्य पौडेलले युवा पुस्ताको आवाज बन्ने अठोटसहित समावेशी र नतिजामूलक नेतृत्व दिने बताएकी छन् ।
उनले समाजले धेरै कुरा सिकाएको र अब सिकेका कुरा फिर्ता गर्दै महिला, युवा र नयाँ आप्रवासीहरुको आवाज बन्ने बताइन् ।
सन् २०१९ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा अष्ट्रेलिया आएकी पौडेलले छोटो समयमा नै नेपाली समुदायमा नेतृत्व क्षमता, सक्रिय समहागिता र सामाजिक उत्तरदायित्वका माध्यमबाट विशिष्ट पहिचान बनाउन सफल भएकी छन् ।
यता वर्तमान अध्यक्ष अनिल पोखरेलले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरेका छन् । आगामी सेप्टेम्बर ६ तारिकमा हुने एनआरएनएको १५ औँ साधारणसभामा नवनिर्वाचिन पदाधिकारीहरुको सपथग्रहण र जिम्मेवारी हस्तान्तरण गर्ने तयारी अध्यक्ष पोखरेलले गरेका छन् । एनआरएनएको जिम्मेवारी हस्तान्तरणसँगै पोखरेलको दुई वर्षे कार्यकाल सम्पन्न हुने छ ।



