सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले दुई वर्षका लागि नयाँ नेतृत्व पाएको छ ।एनआरएनए अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचनबाट नयाँ नेतृत्व पाएको हो ।
निर्वाचनबाट एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । आफ्ना दुई प्रतिद्वन्द्वीलाई पराजित गर्दै कुँवर अध्यक्ष पदमा विजयी भएका हुन् ।
कुँवर ६ हजार ८३९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भैरव ढकालले तीन हजार ७२७ र सञ्जीव गोर्खाली ढकालले दुई हजार १२६ मत प्राप्त गरेको अष्ट्रेलिया निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा उल्लेख छ ।
यसैगरी, उपाध्यक्ष पदमा बबिन मिश्र निर्वाचित भएका छन् । मिश्रले सात हजार २६१ मत प्राप्त गरेको छन् भने उनका प्रतिद्वन्द्वी रमेश पौडेलले चार हजार ६१९ मत ल्याएर पराजित भएका छन् ।
त्यस्तै, महासचिवमा चुडामणि सापकोटा निर्वाचित भएको आयोगले जनाएको छ । सापकोटाले सात हजार ३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भरतमणि देवकोटाले तीन हजार २५६ र अर्जुन गौतमले एक हजार ८१४ मत ल्याएका छन् ।
यसैगरी, गणेशराज गौतमलाई पराजित गर्दै सचिव पदमा कल्याण खड्का विजयी भएका छन् । खड्काले सात हजार १८० मत प्राप्त गरी सचिव पदमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी गौतमले चार हजार ५२८ मत ल्याए ।
त्यस्तै, लुना सिवाकोटीलाई पराजित गर्दै कोषाध्यक्षमा निजन चौलागाईं निर्वाचित भएका छन् । चौलागाईंले सात हजार ८७ मत प्राप्त गर्दा सिवाकोटीले चार हजार ४५६ मत ल्याएकी छन् ।
निर्वाचन आयोग शनिबार राति सार्वजनिक गरेको मत परिणाम अनुसार क्वीन्सल्यान्ड संयोजक पदमा अतुल खड्कासहित टिम र तास्मानियामा पनि संयोजक सुजन वाग्लेसहितको टिम नै निर्विरोध भएको छ ।
यस्तै एनआरएन अष्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिन्जु अधिकारी, एनआरएन अष्ट्रेलिया युवा संयोजकमा पुकार घिमिरे निर्विरोध भएका छन् भने नारी निकुञ्ज अष्ट्रेलियाको उपसंयोजक पदमा प्रतिभा शाह निर्विरोध भएकी छिन् ।
यस्तै, न्यूसाउथवेल्समा उषा किरण बारिया पोखरेल राज्य संयोजक पदमा विजयी भइन् भने साउथ अष्ट्रेलिया संयोजकमा थीरबहादुर गुरुङ निर्वाचित भएका छन् ।
यसैगरी, वेष्टर्न अष्ट्रेलियामा हरिवंश सञ्जेल सुमन, अष्ट्रेलियन क्यापिटल टेरेटोरी संयोजकमा ललित मल्ल, भिक्टोरिया संयोजकमा महादेव धानुक र नर्दन टेरेटोरीमा त्रिलोचन सापकोटा निर्वाचित भएका छन् ।
अष्ट्रेलिया निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालका अनुसार शनिबार अनलाइनबाट भएको मतदानमा १३ हजार ७०१ मत खासेको थियो ।
१६ हजारभन्दा बढी मतदाता भए पनि कूल मतदाताको ८५ प्रतिशत मत मात्र खसेको उनको भनाइ छ ।



