Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

सबैको साथले सफल हुने छुँ : युवा उम्मेदवार अनिल त्वानाबासु

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि निर्वाचन यही जुलाई २६ मा हुँदैछ। अष्ट्रेलियाभर चुनावी चहलपहल चुलिँदै गइरहेको छ । उम्मेदवारहरू राज्य–राज्यमा पुगेर जनसम्पर्क, एजेण्डा र भावी योजनासहित आफ्नो अभियानमा सक्रिय छन् ।

यही सन्दर्भमा, एनआरएनए न्यू साउथ वेल्स राज्य समन्वय परिषद (NSW SCC) को कोषाध्यक्ष पदमा टिम ‘एकता’का तर्फबाट उम्मेदवारी दिएका अनिल त्वानाबासुको जीवन यात्रामा आधारित विशेष प्रस्तुति:-

श्रद्धेय आमा रत्नेश्वरी र बुवा सप्तराम त्वानाबासुका सुपुत्र अनिलको जन्म भक्तपुरमा भयो । चार दिदीबहिनी र आफूसहित पाँच जना दाजुभाइ-बहिनीमध्ये तेश्रो सन्तान अनिलको बाल्यकाल नै पारिवारिक मूल्य, अनुशासन र आत्मनिर्भरताको पाठ सिक्दै बित्यो ।

विद्यालयदेखि नै मिहिनेत र जिम्मेवारीप्रति गम्भीर रहने बानीले उनलाई पढाइमा अब्बल बनायो । भक्तपुरमै माध्यमिक र उच्च शिक्षासम्मको पढाइ सकेपछि स्नातक तह पुरा गरे । यतिबेला उनी लेखापालको रूपमा नेपालमै कार्यरत थिए ।

सन् २००८ अप्रिलमा अनिल पहिलोपटक विद्यार्थी भिसामा अष्ट्रेलिया आइपुगे । धेरै नेपाली युवाजस्तै उनी पनि ठूलो सपना, गैर जिम्मेवारी र भविष्य बनाउने अठोटका साथ नयाँ ठाउँमा ओर्लिएका थिए।

अध्ययनका साथै काम पनि गर्नुपर्ने थियो । पहिलो चरणमा होटल, गेस्टहाउस, रिटेल जस्ता क्षेत्रमा काम गर्दै जीवन अगाडि बढ्यो । उनी भन्छन्, “हुन त सुरु सहज थिएन, तर कहिल्यै गुनासो गरेनँ, बरु सिक्ने र अगाडि बढ्ने अवसर ठानेँ ।”

लगातारको मेहनत र पेशागत दक्षता विस्तार गर्दै जाँदा अनिलले आफ्नै कन्सल्टेन्सी स्थापना गर्ने निर्णय गरे । आज उनी Maven Consulting Group र Maven Entertainment का सह–संस्थापक तथा प्रबन्ध निर्देशक (Managing Director) हुन् ।

Maven Consulting Group मार्फत ७,००० भन्दा बढी विद्यार्थी तथा आप्रवासीहरूलाई शिक्षाबाट करियरसम्मको मार्गदर्शन गरिसकेका छन् । आप्रवासन, शिक्षा र आतिथ्य सेवामा उनको दायरा केवल व्यवसायिक हैन, सामाजिक समर्थनको खम्बा बनेको छ ।

अनिलको जीवनशैलीमा देखिने विशेषता हो — शान्त, स्थिर र सहृदय नेतृत्व ।

मार्गदर्शक, स्रोता र सल्लाहकारका रूपमा आफुलाई प्रस्तुत गर्दै आएका उनले सामाजिक सेवामा लाग्ने प्रेरणा आफ्ना आमाबुबाबाट पाएको बताउँछन् ।

उनी भन्छन्, “सधैं मभन्दा अरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सोच राख्छु ।”

उनको नेतृत्वमा सयौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो करियर, जीवन र आत्मविश्वासमा नयाँ उचाइ प्राप्त गरेका छन् । त्यो नै उनको आत्मसन्तोषको मुख्य कारण हो ।

२०२५ मा पहिलोपटक एनआरएनएको सदस्यता लिएपछि, अनिलले यस संस्थामा सक्रिय संलग्नता जनाउँदै आएका छन् ।

हाल उनले NSW SCC कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यो उम्मेदवारी केवल पदका लागि होइन, बरु आफूले १७ वर्षदेखि कमाएको लेखापाल अनुभव र वित्तीय पारदर्शिताको संकल्पलाई कार्यान्वयन गर्ने अवसरको रूपमा लिएका छन् ।

उनको प्राथमिक योजना:
• राज्यको कोषलाई प्रत्येक तीन महिनामा पारदर्शी रूपमा सार्वजनिक गर्ने,
• डिजिटल रिपोर्टिङ प्रणाली लागू गर्ने,
• आर्थिक प्रणालीलाई नियमित, उत्तरदायी र सदस्य-मैत्री बनाउने ।

अनिलको भनाइमा आत्मविश्वास झल्किन्छ: “लेखापालको रूपमा १७ वर्षको अनुभव छ । यो ज्ञान र अभ्यास अब म एनआरएनएको सुशासन र वित्तीय सुधारमा प्रयोग गर्न चाहन्छु ।”

अनिल विवाहित छन् र एक छोराका पिता हुन् ।

अष्ट्रेलियामा बसोबास गर्दा पनि आफ्नो संस्कृति, नेपालीपन र समुदायप्रतिको प्रेम कहिल्यै कम भएको छैन ।

उनी भन्छन्, “समुदाय भन्नाले म परिवार नै सम्झन्छु । कुनै पनि सहयोग, सल्लाह वा साथको आवश्यक पर्दा म सधैं उपस्थित हुन्छु ।”

उनलाई नजिकबाट चिनेका धेरैले ‘भरोसाको मान्छे’, ‘सुनुवाइ गर्ने नेता’ भन्ने विशेषण दिन्छन् ।

“गुटभन्दा माथि उठौं, गुणको आधारमा नेतृत्व छानौं”, भन्दै अनिल सबै मतदातासँग विनम्र अपिल गर्छन्, “तपाईंको एक अमूल्य मतले पारदर्शी, उत्तरदायी र विश्वासिलो वित्तीय प्रणालीको सुरुवात गर्न सक्छ । मलाई NSW SCC कोषाध्यक्षको रूपमा विजयी गराउनुहोस्, म तपाईंहरूको विश्वास नतोड्ने वाचा गर्छु ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु