Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

एनआरएनए अष्ट्रेलिया निर्वाचन विवादमा, उम्मेदवारले उठाए प्रश्न

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको यही जुलाई २६ मा हुने निर्वाचनका उम्मेदवारहरुले निर्वाचन सम्पन्न गर्ने प्रक्रियामा प्रश्न उठाएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै नर्दन टेरेटोरी संयोजक एवम् उपाध्यक्ष सञ्जीव ढकाल गोर्खाली, न्यूसाउथवेल्स संयोजक एवम् उपाध्यक्ष विनोद कुँवर, अष्ट्रेलियन क्यापिटल टेरेटोरी संयोजक एवम् उपाध्यक्ष विक्रम सुवेदी र वर्तमान कोषाध्यक्ष अर्जुन गौतमले निर्वाचन सम्पन्न गर्ने प्रक्रियाबारे प्रश्न उठाएका हुन् ।

एनआरएनए अष्ट्रेलियाका तीन उपाध्यक्ष र काषाध्यक्षले विधानको उल्लङ्घन गरेको भन्दै विज्ञप्तिमा ध्यानाकषर्ण गराइएको छ ।

एक हजारभन्दा बढी आवेदन दिएका सदस्यको आवेदन पेन्डिङमा रहेको भन्दै मतदान प्रक्रियाबाट बाहिर राख्नु विभेदपूर्ण हुने र योग्यता नपुगेका व्यक्तिहरुको उम्मेदवारी खारेज हुनुपर्ने माग उनीहरुको छ । साथै यस्तो गतिविधिले संस्था अप्रत्याशित अन्धार र बदनामीमा फसेको आरोप उनीहरुको छ ।

‘‘निर्वाचन आयोगको कडा परिश्रमलाई स्वीकार गरे तापनि, हामी यो भन्न पाउँदा दुःखी छौं कि वर्तमान निर्वाचन प्रक्रिया प्रक्रियागत अनुचितता, छनोटपूर्ण निर्णय प्रक्रिया र निर्देशक बोर्ड (बिओडी) र निर्वाचन आयोग दुवैद्वारा एनआरएनए अष्ट्रेलियाको संविधानको गम्भीर उल्लङ्घनले कलंकित भएको छ ।’’ जारी विज्ञप्तिमा भनिएको छ ।

यसले एनआरएनए अष्ट्रेलियाले पालना गर्ने अपेक्षा गरिएको निष्पक्षता, निष्ठा र पारदर्शिताको मूल्यलाई कमजोर बनाएको उनीहरुको भनाइ छ ।

‘‘केही आजीवन सदस्यहरूको समावेश स्वागतयोग्य भए तापनि, प्रतीक्षा सूचीमा रहेका एक हजारभन्दा बढी रकम तिरेका आवेदकलाई अनुमोदन गर्न असफल हुनु अन्यायपूर्ण र भेदभावपूर्ण छ ।,’’ विज्ञपप्तिमा उल्लेख छ, ‘‘यी व्यक्तिहरूलाई संस्थाले अपेक्षा गरेको वित्तीय दायित्वहरू पूरा गरे तापनि, उम्मेदवार वा मतदाताको रूपमा भाग लिने अवसरबाट अनुचित रूपमा वञ्चित गरिएको छ ।’’

यही जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनका आजीवन सदस्यहरुसहित कूल मतदाता १६ हजार ११३ पुगेको छ ।

यसैबीच, शनिबार नै एनआरएनए अष्ट्रेलिया निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी निर्वाचन निष्पक्ष हुने बताएको थियो ।
प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले निर्वाचन टुक्राउने नभइ जोड्ने अभियान भएको बताउँदै फरक मत राख्नेहरु समेत यो निर्वाचन उत्सवमा सँगै हुने बताएका थिए । साथै उनले सबैको मत सुरक्षित हुने विश्वास पनि व्यक्त गरे ।

प्रमुख निर्वाचन आयुक्ता ढकालले निर्वाचन आचारसंहिताको पालना गर्न सबै उम्मेदवार तथा मतदातालाई आग्रह गरेका छन् ।

तीन सय ८९ उम्मेदवार चुनावी मैदानमा रहेको एनआरएन अष्ट्रेलिया निर्वाचनमा सबै लाईफ मेम्बर (सदस्य)ले भोट हाल्न पाउने छन् । अनलाइन भोट भने विगतकै भेरो भोटिङमार्फत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु