Wednesday, April 15, 2026
Zenith Migration Education
Wednesday, April 15, 2026

नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध

Zenith Migration Education

काठमाडौं । नेपाल र बंगलादेशबिचको खेलमा भएको घटनाका कारण दुबै टिमका खेलाडी तीन खेलका लागि निलम्बन गरिएको छ ।

साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा भएको घटनाका कारण दुवै टिमका खेलाडीलाई निलम्बन गरिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालकी डिफेन्डर सिमरन राई र बंगलादेशकी सागरिकालाई तीन खेलका लागि निलम्बन गरेको हो । साथै यी दुई खेलाडीलाई पाँच सय अमेरिकी डलर जरिवाना पनि गरेको छ ।

अन्तिम समयमा गोल गर्दै बंगलादेशले ३–२ को जित हात पारेको थियो । तर खेलको ५५औं मिनेटमा सिमरन र सागरिकाबिच विवाद भएको थियो ।

मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएपछि रेफ्रीले दुवै खेलाडीलाई सोझै रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए ।

सामान्यतः रातो कार्ड पाएका खेलाडीलाई एक खेलको प्रतिबन्ध लाग्ने नियम छ । तर घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रतियोगिता आयोगले प्रतिबन्धलाई तीन खेलमा बढाएको हो ।

यद्यपि, यी दुई खेलाडीले दुई खेलको प्रतिबन्ध भोगिसकेका छन् । त्यसैले बंगलादेश र नेपालबिच हुने निर्णायक खेलमा यी दुई खेलाडी पुनः एक साथ मैदानमा देखिने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु