सिड्नी (अष्ट्रेलिया) । नेपाली विद्यार्थी र युवाहरूका सबैखाले समस्यामा आवाज उठाउने संस्था ‘सिड्नी बोईज’ अहिले एक संस्थाको रुपमा स्थापित भएको छ । नेपालबाट उच्च शिक्षा हासिल गर्न सिड्नी आइपुगेका नेपाली युवाहरुले समाज परिवर्तनको सपनालाई जीवनमा उतार्न थालेका छन् ।
उच्च शिक्षा अध्ययन गर्न वा डिपेन्डेन्ट भिसामा अष्ट्रेलियाको सिड्नी आइपुगेका युवाहरूले मिलेर सुरु गरेको ‘सिड्नी बोईज’ नामक समूह अहिले एक उद्देश्यपूर्ण संस्थाको रूपमा स्थापित हुन सफल भएको हो ।
केही महिना अघिमात्र विधिवत रुपमा दर्ता भएको यो संस्थामा छोटो समयमै उल्लेखनीय युवाहरुले सहभागिता जनाएका छन् ।
सिड्नी बोईजका अध्यक्ष निसान पौडेलले अहिले संस्था सामाजिक सेवामा अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार अहिले सिड्नीमा मात्र करिब दुई सय जना सदस्य सक्रिय रूपमा आबद्ध भइसकेका छन् । साथै अब मेलबर्न, क्यानबेरालगायतका राज्यहरूमा पनि शाखा विस्तारको अभियान तीव्र गतिमा चलिरहेको अध्यक्ष पौडेलले बताए ।
यसैगरी, संस्थाले ‘मिट एण्ड ग्रिट’, ‘संस्था परिचय कार्यक्रम’का साथै मेन्टल हेल्थ, ग्याम्बलिङ, ड्रग्सलगायत युवाहरूमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाका अध्यक्ष पौडेलल भने, “नेपाली विद्यार्थी र युवाहरूका सबैखाले समस्यामा आवाज उठाउने कानुनी वा अन्य स्तरमा एड्भोकेसी गर्ने र कठिन अवस्थामा रहेका जो कोहीलाई पनि सहयोग गर्ने हाम्रो संस्थाको मुख्य उद्देश्य हो ।”
उनी थप्छन्, “पहिले यस्तो सहयोग र आवाज उठाउने जिम्मा एनआरएनए वा अन्य संस्थाहरूमै सिमित थियो । तर विद्यार्थीहरूको सङुख्यात्मक वृद्धि र बढ्दो समस्या समाधान गर्न हामी स्वयं अगाडि नबढि हुँदैन भन्ने महसुस गर्दै ‘सिड्नी बोईज’ को आकस्मिक र सशक्त उदय भएको हो ।”
संस्था अब परोपकारी र आत्मनिर्भर संस्थाको रूपमा अगाडि बढ्ने लक्ष्य रहेको उनले बताए । यसका लागि संस्थाको आफ्नै लोगोसहितको टिसर्ट, हुडी जस्ता सामग्री प्रयोगमा ल्याइरहेको उनको भनाइ छ । यद्यपी, सदस्यहरू आफैं ‘खाजा खर्च कटौती’ गरेर संस्था चलाउने काममा लागिपरेका छन् ।




