काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादु प्रधानले कैद सजाय भुक्तनी गरिसकेका व्यक्तिको चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुका कारण उल्लेख नगरी दिन माग गरेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद प्रधानजले कुनै पनि व्यक्तिले कैद सजाय भुक्तानी गरिसकेपछि प्रहरीको रिपोर्टमा उसले गरेको काम, सजाय भुक्तानी गर्नुपर्ने कारण र कति दिन कैद सजाय भोगेको हो भन्ने विवरण हुने गरेको बताए ।
यस्तो रिपोर्ट दिँदा उसले जीवनमा अर्को काम गर्न नपाउने स्थिति सिर्जना हुने हुँदा चारित्रिक प्रमाणपत्र दिँदा कैद सजाय भुक्तानी गर्नुका कारण वा भोगेका समयबारे उल्लेख नगरी दिनुपर्ने उनको माग छ । तर, प्रहरीले राख्ने रेकर्डमा भने ती कुराहरु उल्लेख हुनुपर्ने उनको भनाइ छ ।
साथै यस विषयमा सर्वोच्च अदालतले परमादेश जारी गरिसकेको, तर गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको बैठकले यसो गर्न नमिल्ने निर्णय गरेअनुसार रिपोर्टमा सबै कुरा उल्लेख हुने गरेको उनले बताए । उनका अनुसार यस विषयमा सरकारले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।



