Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

Zenith Migration Education

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा समाजसेवी खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन् ।

हाल एनआरएनए जापानको प्रवक्ताको रुपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र जवाफदेही नेतृत्वको विकास र संस्थालाई संस्थागत रूपमा सञ्चालन गराउने उद्देश्यले सन् २०२५–२०२७ का लागि एनआरएनए एनसीसी जापानको महासचिव पदमा उम्मेदवारी दिएको जनाए । ‘‘संस्थाको विधि, विधान र जापानको कानुनमा टेकेर यहाँ रहेका हरेक नेपालीहरुले विश्वास र भरोसा गर्न सक्ने एनआरएनए बनाउन म लागि पर्नेछु,’’ उनले भने ।

‘‘आगामी २ वर्षको कार्यकालमा एनआरएनए जापानलाई संस्थागत विकासको बाटोमा अघि बढ़ाई सामान्यभन्दा सामान्य व्यक्तिले पनि ‘एनआरएनए जापान मेरो दुःखको पनि सुखको पनि नजिकको साथी’ भन्ने धारणा विकास गराउने नै मेरो मुख्य उद्देश्य रहने छ,’’ गौतमले भने ।

जनहित न्यूजका सम्पादक समेत रहेका गौतम गलकोट समाज जापानका लेखा अनुगमन तथा अनुशासन समितिका संयोजक पनि हुन् ।

उनले आगामी २७ जुलाईमा हुन लागेको एनआरएनए जापानको १२ औं महाधिवेशनबाट नयाँ कार्यसमितिको महासचिव पदमा विजयी बनाउन जापानवासी सबै पंजीकृत सदस्यहरुलाई आग्रह गरेका छन् ।

“विगत २५ वर्षदेखि सञ्चारकर्म, १२ वर्ष गैरसरकारी संस्थाहरुमा काम गरेको अनुभव र एनआरएनए जापानमा विगत तीन कार्यकाल बाहिर रहि सहयोगीको भूमिका र हाल प्रवक्ताको रुपमा संस्थाको संस्थागत विकासमा पुर्याएको योगदान, अनुभव र सिकाईलाई एकमुष्ट एनआरएनए जापानको सुदृढीकरणमा योगदान प्रदान गर्न मैले महासचिव पदमा उम्मेदवारी दिएको हुँ,’’ गौतमले भने । एनआरएनए केन्द्रका साथै एनसीसी जापानलाई पनि एकताबद्ध बनाउन आफुले सक्दो पहल गर्ने उनले बताए ।

संस्थाका मौजुदा विधि, विधान नीति नियमको प्रभावकारी कार्यान्वयन गरेर हरेक नेपालीहरुले विश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन र विधानको समय सापेक्ष रूपमा विज्ञहरूको संलग्नतामा परिमार्जित गरि संघमा रहेका विभाग, कार्यदल, लगायतको प्रभावकारी परिचालनका लागि नियमावली कार्यावधि बनाउन संयोजनकारी भूमिका निर्वाह गर्न आफुले महासचिव पदमा उम्मेदवारी दिएको उनले बताए । यसैगरी , “नेपाली घर हाम्रो साझा सपना हो’’ भन्ने सोचका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले “ड्रिम प्रोजेक्ट’’ अन्तर्गत निर्माणाधीन ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ लाई सम्पन्न गराउन सहयोगीको रुपमा भूमिका निर्वाह गर्न पनि आफु सक्रिय रहने उनको प्रतिबद्धता छ ।

“विशेषतः एनआरएनएमा आइसकेपछि विगतमा के गरिन्थ्यो त्यो छोडिदिऊँ, केवल एनआरएनमा ध्यान दिउँ । बाहिरको राजनीतिक प्रभाव एनआरएनएको कार्यसम्पादनका कर्ममा नल्याऔँ । एनआरएनको उद्देश्य के हो त्यो पूरा गर्न पट्टि लागौँ,’’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु