तौलिहवा (कपिलवस्तु) । कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।
काठमाडौँबाट दाङ जाँदै गरेको लु.प्र. ०२००१ ख ००४५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीले जानकारी दिएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुदांलीको भनाइ छ ।
दुर्घटनामा सल्यान बागचौर नगरपालिका– १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान सारदा नगरपालिका– १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका–११ का ३५ वर्षीय श्रीधर अधिकारी घाइते भएका छन् । उनीहरुलाई आइतबार बिहान सवा ५ बजेतिर थप उपचारका लागि बुटवल पठाइएको छ ।
यसैगरी, रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका– ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका–२ बस्ने १९ वर्षीया अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका– बस्ने ५२ वर्षीया सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका– ८ बस्ने ६० वर्षीया टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका– १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका– ३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का दुर्घटनामा परी घाइते भएका छन् । उनीहरुको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।
त्यस्तै, अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका– ४ बस्ने २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका– ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्कबहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीमबहादुर विक, सल्यान बागचौर नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्रबहादुर विक, दाङ तुलसीपुर उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका– ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका–४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका– २ बस्ने २४ वर्षीया शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका– ३ बस्ने ४२ वर्षीया रश्मि बोहरा र घोराही उपमहानगरपालिका–११ बस्ने ३९ वर्षीय वेदबहादुर वली छन् ।



