काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट तथा अति विशिष्ट (भीआईपी–भीभीआईपी) व्यक्तिहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई व्यवस्थित गर्न नयाँ नियम लागू भएको छ ।
अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै अबदेखि भीआईपी-भीभीआईपीहरूले अध्यागमन प्रक्रिया पूरा गर्नका लागि अनिवार्य रूपमा स्वयं उपस्थित भएर फोटो खिचाउनुपर्ने व्यवस्था गरेको हो ।
अध्यागमन कार्यालय, त्रि.अ.वि.का प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाद्वारा सूचनामा भीआईपी तथा भीभीआईपी महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई सरल, सहज, शीघ्र एवम् सुविधायुक्त बनाउन छुट्टै भीआईपी÷भीभीआईपी डेस्कको व्यवस्था गरिएको उल्लेख छ ।
‘उक्त भीआईपी÷भीभीआईपी डेस्क प्रयोग गरी आगमन-प्रस्थान गर्नुहुने महानुभावहरूले (अध्यागमन प्रक्रियामा बायोमेट्रिक लिन नपर्ने गरी कुनै ऐन, कानुनमा उल्लेख भएका बाहेक) अनिवार्य रूपमा अध्यागमन प्रक्रिया (भीआईपी-भीभीआईपी डेस्कमा स्वयम् उपस्थित भई फोटो समेत खिचाई) पूरा गरिदिनुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गरिएको छ,झ सूचनामा उल्लेख छ ।
यो व्यवस्थाले अब कुनै पनि भीआईपी वा भीभीआईपीको अध्यागमन प्रक्रिया उनीहरूको अनुपस्थितिमा पूरा गर्न पाइने छैन । अध्यागमनको रेकर्डका लागि फोटो अनिवार्य गरिए पनि उनीहरूले बायोमेट्रिक (औँठा छाप) भने दिनु नपर्ने सूचनामा स्पष्ट पारिएको छ ।
नेपाल राजपत्रमा उल्लेखित भएकाहरूले पनि उक्त भीआईपी-भीभीआईपी डेस्कको प्रयोग गरी आफ्नो अध्यागमन प्रक्रियालाई सहज बनाउन अनुरोध गरेको छ । यो नयाँ व्यवस्थाले विमानस्थलको अध्यागमन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।




