काठमाडौँ । मनसुनको शुरुवाती पहिलो महिनामा मुलुकभर सरदरभन्दा कम वर्षा भएको छ । जुन महिनासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले जुन एक तारिकदेखि जुलाई १० सम्मको मनसुनको अवस्था विश्लेषण गरी जारी गरेको पुनरावलोकनमा सरदरभन्दा कम वर्षा भएको देखिएको हो । सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई जनाउँछ । यस वर्षको मनसुन मे २९ तारिकमा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो ।
मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो शुरु भएको थियो ।
जल तथा मौसम विज्ञान विभागका मुलुकभर पाँच सयभन्दा बढी वर्षा मापन केन्द्रहरु छन् । विभागले दैनिक अनुगमन गरेका २० केन्द्रहरु मध्येको तथ्याङ्कहरुका आधारमा मधेश प्रदेशमा सरदरभन्दा कम र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिएको छ । समग्रमा विश्लेषण गर्दा मुलुकभर यो अवधिमा सरदरभन्दा कम वर्षा भएको हो ।
मुलुकभर मनसुन अवधिभर १४ सय ७९ दशमलव ७ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा मानिन्छ । अहिलेसम्म सरदर वर्षाको जम्मा २६ दशमलव ४ प्रतिशत मात्रै वर्षा भएको छ । जुलाई ११ सम्मको सरदर वर्षा ३ सय ९१ दशमलब ३ मिलिमिटर अर्थात् ८५ प्रतिशत भएको छ । यो अवधिमा गत वर्ष ४ सय ६० दशमलव ३ मिलिमिटर वर्षा भएको थियो ।
मनुसुन प्रक्षेपणको विश्लेषण मनसुन अवधिभरलाई गरिने भएकाले अहिले नै निष्कर्षमा पुग्न नमिल्ने भएपनि नमूना अनुगमनका वर्षामापन केन्द्रको तथ्याङ्कहरुका आधारमा यो अवधिमा सरदर भन्दा कम वर्षा भएको भन्न सकिने विभागका प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले बताए । मौसमविद् पोखरेलले सुदूरपश्चिमका केही भूभागमा पछिल्ला केही दिनमा सरदरभन्दा बढी वर्षा भएको रेकर्ड भए पनि मुलुकभरको समग्र विश्लेषणमा सरदरभन्दा कम वर्षा भएको देखिएको बताए ।
विभागले दैनिक अनुगमन गरेका बर्षामापन केन्द्र मध्येको विराटनगर विमानस्थलको बर्षामापन केन्द्रका अनुसार जुलाई १ देखि ११ सम्म ४ दशमलव ६ प्रतिशत वर्षा भएको छ । जुन १ देखि जुलाई ११ सम्म २ सय ११ दशमलब २ मिलिमिटर वर्षा भएको छ । विराटनगर विमानस्थलको सरदर बर्ष १४ सय ६ दशमलव २ मिलिमिटर हो । सन् २०२४ को मनसुन अवधिमा २१ सय ४२ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । यो १ सय ५२ प्रतिशत थियो ।
त्यसैगरी जनकपुर विमानस्थलको तथ्याङ्कअनुसार जुन १ देखि जुलाई ११ सम्म १ सय ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । अघिल्लो वर्ष यही अवधिमा सो स्थानमा ५ सय ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो ।
त्यसैगरी, सिमरा विमानस्थलको बर्षामापन केन्द्रमा रेकर्ड भएको तथ्याङ्कअनुसार, जुन १ देखि जुलाई ११ सम्म २ सय ६१ दशमलव १ मिलिमिटर वर्षा भएको छ । गत वर्ष यो अवधिमा ४ सय २६ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । यसैबीच, मधेश प्रदेश सरकारले असार २६ गते मन्त्रिपरिषद् बैठकबाट मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मनसुनको समयमा वर्षा नहुँदा धान रोपाइँ हुन नसकिरहेको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेपछि सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारले विशेष राहत प्याकेजको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग पनि गरेको छ ।



