Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

Zenith Migration Education

गण्डकी । छ महिना नबित्दै युट्युबमा दश करोडपटक हेरिएको गीत‘दुश्मन हेरेको हेरै’बाट चर्चामा आउनुभएका गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा रेकर्ड कायम गरेको छ । उक्त गीत युट्युबमा सार्वजनिक भएको २४ घण्टाभित्र सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल भएको हो ।

बुधबार बेलुका सार्वजनिक उक्त गीतलाई शुक्रबार दिउँसोसम्म ३० लाखभन्दा बढीपटक हेरिएको छ । गायक थापा र सिसन बानियाँको स्वर रहेको यस गीत अहिले युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा छ । गीतको म्युजिक भिडियोमा गायक थापा, बानियाँ, गुराँस नानी र पेम्बा लामाको अभिनय देख्न सकिन्छ ।

गत पुसमा सार्वजनिक गायक थापाको गीत ‘दुश्मन हेरेको हेरै’लाई पनि हालसम्म युट्युबमा १० करोड ७३ लाखभन्दा बढीपटक हेरिएको छ । यही असार पहिलो साता उक्त गीतको ‘भ्यूज’ १० करोड नाघ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत गायक तथा सर्जक थापालाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका थिए ।

युट्युब ट्रेन्डिङको पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङमासमेत परिसकेको उक्त गीतको सफलताले भावुक हुनुका साथै खुसी भएको गायक थापाले बताउनुभयो । “भगवानरूपी दर्शक/स्रोताले दिनुभएको यो सम्मान केबल भ्यूजको सङ्ख्या होइन, यो सपना पूरा भएको क्षण हो”, उनले भने ।

उक्त गीतको सफलतापछि आफ्नो साङ्गीतिक यात्राले नयाँ मोड लिएको गायक थापाको भनाइ छ । पछिल्लो गीत ‘जाने भए जाम माया’ले पाएको चर्चा र सफलताको श्रेय पनि दर्शक/स्रोतालाई जाने बताउँदै उहाँले आगामी दिनमा यस्ता रचनात्मक क्रियाकलापलाई निरन्तरता दिने उल्लेख गरे ।

एकपछि अर्को सफल गीत सृजना गर्दै आउनुभएका गायक थापाको पछिल्लो समय देशविदेशका साङ्गीतिक कार्यक्रम र मेला–महोत्सवमा माग बढ्दो छ । “दुश्मन हेरैको हेरै गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ”, थापाले भने, “कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यस्तताका कारण समय दिन सकिरहेको छैन, अहिले नयाँ गीत रेकर्डिङमा लागिरहेको छु ।” उनका अनुसार देशविदेशका मेला–महोत्सवसँगै युट्युबबाट पनि कमाइ भइरहेको छ ।

‘दुर्गेश थापा’ युट्युब च्यानलमा सस्क्राइबर (ग्राहक)को सङ्ख्या १० लाख बढी पुगेको छ । ‘दुश्मन हेरेको हेरै’मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हो । गीतको सङ्गीत संयोजन पनि उनले नै गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा उहाँसहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतको अभिनय छ । सयौँ गीतमा स्वर र म्युजिक भिडियोमा अभिनय गरेका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा…लगायत गीत चर्चित छन् । उनले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन् । थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘डाँडै बिसौनी..’, ‘जूनले मात्र देख्छ…’, ‘हाँस्न सिकायौँ…’ लगायत उहाँद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन् ।

पहिलोपटक दीपक/दीपाको चलचित्र ‘छ माया छपक्कै…’मा प्रोमोशनल गीत गाएका थापाले गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएनका ‘उठेर नाचिस्यो’ गीत पनि चर्चित बनेको थियो । ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन…’ गीतको सङ्गीत र शब्द पनि थापाले रचना गरेका हुन् । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन् ।

थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहन्छन् । ‘करिअर’को सुरूआतीकालमा रेष्टुराँ र बारमा नृत्यकारका रूपमा काम गरेका उनले अहिले अभिनय र सङ्गीतमा पोख्त भएका छन् । गायक थापा आगामी महिना अष्ट्रेलियाको साङ्गीतिक यात्रामा सहभागी हुन त्यसतर्फ जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु