Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

मनसुनका बेला वर्षा नहुँदा मधेश सुख्खाग्रस्त क्षेत्र घोषणा

Zenith Migration Education

जनकपुर । मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । मनसुनका बेला पनि वर्षा नहुँदा रोपाइँमा समस्या उत्पन्न भएपछि बिहीबार साँझ बसेको मन्त्रिपरिाषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समयमा वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएपछि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिएका छन् ।

बैठकले वातावरणीय धान रोपाइँ प्रभावित भएको, रोपिएका खेतमा समेत चिरा फाट्न थालेको र खडेरीले कृषि उत्पादन सङ्कटमा पार्न थालेको अवस्था आएको निष्कर्ष निकालेको छ ।

यसैगरी, बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह समेत गरेको छ । यस्तै कृषि क्षेक्रमा त्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न मधेश प्रदेश सरकारले आह्वान गरेको छ ।

त्यस्तै, बैठकले पर्साको वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी सङ्कट समाधानका लागि ट्याङ्करसहितका माध्यम परिचालन गर्ने निर्णय समेत गरेको छ ।

वर्षा नहुँदा मधेश प्रदेशमा अहिलेसम्म २५ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको मधेश प्रदेश कृषि निर्देशनालयले जनाएको छ । मौसम विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने जनाएको भए पनि असार बित्न लाग्दासमेत मधेशमा मनसुनको प्रवेश भएको छैन ।

वर्षा अभावले मधेशका ७५ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । बोरिङको सिँचाइले रोपिएका धान पनि चिस्यान अभावले खेतमा चिरा पर्न थालेका छन् भने धानका ब्याड पनि सुक्न थालेका छन् ।

निर्देशनालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी पर्सा जिल्लामा ६२ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ९.४१ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तै रौतहटमा ४०, सर्लाहीमा ३०, सिरहामा २५, बारामा २१.७ र सप्तरीमा १० प्रतिशत मात्र रोपाइँ भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु