Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

Zenith Migration Education

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् ।

राखेपद्वारा सादोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिषदमा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिएका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको दोस्रो संस्करणको एनपिएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे । उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।

आफूले हालै स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रङ्गलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रङ्गशाला बनाउने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मङ्सिरमा प्रतियोगिता गर्न परिषद्लाई निर्देशन दिए । आगामी मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रको पूर्वाधार विकासका साथै प्रोत्साहनका लागि काम भइरहेको बताए । परिषद्का उपाध्यक्ष ध्रुब आचार्यले राष्ट्रिय खेलकुद प्रतियोगिता र जापानमा हुने २०औँ दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो तयारीका साथ प्रस्तुत हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु