Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा खादा, माला र परिचय खुल्ने पोसाक लगाउन रोक

Zenith Migration Education

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । अध्यागमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो ।

यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूका लागि लागू हुने कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न नपाइने भनेको हो । यस्ता वस्तुले सम्भावित सुरक्षा जोखिम बढाउने र अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै परिचय झल्किने पोसाकमा समेत प्रतिबन्ध लगाइएको छ । कुनै विशेष समूह, सङ्गठन, ट्राभल एजेन्सी वा मेनपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण रोक लगाइएको हो । यस्तो पहिरनले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको हो ।

कार्यालयले यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गरिदिन सबैमा अनुरोध समेत गरेको छ । नियमको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु