सिड्नी—सन्तोष कुँवर गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्षमा निर्विरोध हुने अपेक्षा गरिएको छ । एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदबार कुँवरले सशक्त रुपमा आफ्नो चुनावी अभियान अघि बढाएका छन् । एनआरएनएको निर्वाचन जुलाइ २६,मा हुँदैछ ।
अष्ट्रेलियाका विभिन्न राज्यमा आफ्नो चुनावी अभियान सकेर कुँवर सिड्नी आइपुगेका छन् । जुन अष्ट्रेलियाली नेपाली समुदायको मुटु मानिन्छ । चुनावी अभियानका एजेण्डसहित सिड्नी आइपुगेका कुँवरप्रति देखिएको समर्थनले आगामी निर्वाचनमा उनको उम्मेदवारीलाई थप उचाइमा पुरयाउने अपेक्षा गरिएको छ ।
न्यू साउथ वेल्स (NSW) मा सक्रिय ‘राज गुरुङ टिम’ सहित अन्य उम्मेदवारहरूले एकताबद्ध समर्थन जनाएपछि कुँवरको पक्षमा सशक्त राजनीतिक तरङ्ग पैदा भएको छ । ठूला लोकतान्त्रिक समूह, अग्रज अभियन्ता र विभिन्न संस्थागत नेताहरू खुलेरै कुँवरको पक्षमा उभिन थालेका छन् ।
एनआरएनए अष्ट्रेलियाको वर्तमान महासचिव रहेका कुँवर एक दशकभन्दा बढी समयदेखि संघ र समुदायमा समर्पित छन् । सामाजिक अभियन्ताको रूपमा परिचित कुँवर अष्ट्रेलियाको नेपाली समुदाय मात्र होइन, बहुसांस्कृतिक समाजमा समेत चिरपरिचित अनुहार हुन् ।
उनको नेतृत्वशैली, समावेशी सोच र जिम्मेवार कार्यप्रणालीलाई मूल्याङ्कन गर्दै धेरै मतदाताहरूले उनलाई “कार्यदक्ष, व्यवहारिक र समावेशी भावनाका धनी” नेताको रूपमा लिएका छन् ।
मेलबर्न, ब्रीसबेन, एडिलेड, क्यानबरा, पर्थ लगायत सबै राज्यहरूमा रहेका समर्थकहरूले पनि कुँवरको अभियानलाई खुलेर समर्थन गरेका छन् । बिल्लिजबिन निवासी कुँवर समुदाय र संस्थासँगको समन्वयमा अनुभव प्रस्तुत गर्दै “नतिजा मूलक र व्यवहारिक नेतृत्व” को उदाहरणको रूपमा स्थापित गर्न सफल भएका छन् ।
जनसम्पर्क समिति अष्ट्रेलियाका केन्द्रीय अध्यक्ष सुरेश रानसिंह गुरुङ, विविध क्षेत्रका क्रियाशील अभियन्ता, संस्थापक अगुवा र युवा नेताहरू समेत कुँवरको पक्षमा उभिएका छन् । यो समर्थनले उनलाई ‘सम्भावित निर्विरोध अध्यक्ष’ का रूपमा स्थापित गरेको उनका समर्थकहरूको दाबी छ ।
“चुनाव मितिको नजिकिँदै जाँदा सिड्नीमा देखिएको यो समर्थन स्वयंमा विजयको पूर्व सङ्केत हो ।” ललितपुरको गोदावरी–टौखेल निवासी सन्तोष कुँवरले पिनाकल कलेज, तिनचन्द्र क्याम्पस हुँदै युवा नेतृत्वको अनुभव सङ्कलन गर्दै अष्ट्रेलिया आएका थिए । बिल्लिजबिनमा स्थायी बसोबास गरिरहेका उनी सामाजिक न्याय, पारदर्शिता र जवाफदेहिताको पक्षपाती नेताका रूपमा परिचित रहेको बताइन्छ ।
एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा रूपान्तरण ल्याउने दृढ सङ्ल्पसहित अघि बढिरहेका कुँवरले संस्थालाई व्यवसायिक, समावेशी र पारदर्शी बनाउने योजना अघि सारेका छन् । एनआरएनए अब भाषण होइन, परिणाममुखी काम गर्ने थलो बन्नुपर्ने अध्यक्ष पदका उम्मेदवार कुँवरको भनाइ छ ।



