काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले पाँच दिनको अल्टिमेटम दिएको छ ।
समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई निर्देशन दिएका हुन् ।
उहाँले सरकारले समितिलाई खेलौनाजस्तो बनाएको आरोप लगाए । बैठकमा यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गरेका थिए । सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरुको विचारलाई नसुन्ने प्रवृत्ति देखाएको अगामी दिनहरुमा हेक्का राख्न चेतावनी दिए ।
उनले भने, ‘‘समिति खेलौना जस्तो बनाइएको छ । कहिले बैठक बोलाउ, कहिले बैठक स्थगित गर । यो कति पटकसम्म ? अब अन्तिम समय हो । तपाई अनिश्चित नभन्नुस् फेरी । सरकारले कति दिनभित्र सहमति गरेर आउने हो समितिलाई समय उपलब्ध गराओस् । थप विषय लिएर आउने होइन फेरी यही विषयमा सहमति गरेर कति दिनमा आउने हो ? मन्त्रीज्यूले भनिदिनुपर्यो ।’’
शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै शिक्षामन्त्री पन्तले गत आसर १६ गतेदेखि समय माग्दै आएका छन् ।



