जनता समाजनवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौचमा उत्रनुभएका यादवलाई सर्लाही जिल्ला अदालतले शुक्रबार आपराधिक उपद्रो कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
अदालतले पक्राउ गर्न अनुमति प्रदान गरेलगत्तै प्रहरीले कविलासी नगरपालिका–१०, सलेमपुरका यादव फरार भएका हुन् ।
सर्लाही प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी सरोज राईले शनिबार बिहानसम्म यादव पक्राउ नपरेका बताएका छन् । यादवको खोजीमा प्रहरी तैनाथ गरिएको डिएसपी राईको भनाइ छ ।
पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादवलाई पक्राउ गर्न भन्दै प्रहरीले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न युनिटबाट थप प्रहरी जम्मा पारेको छ । जिल्ला प्रहरी प्रमुखसँग गालीगलौचमा उत्रिएपछि यादवलाई पक्राउ गर्न जाँदा उनका समर्थकले प्रहरीको गाडी तोडफोड र अवरोध गरेकाले पनि यादवलाई पक्राउ गर्नुपूर्व नै उच्च सुरक्षा सावधानी अपनाइएको हो ।
जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख खड्काबिच टेलिफोनमा भएको बाझाबाझ अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल छ । यादव र एसपी खड्काबिच बिहीबार राति टेलिफोनमा गालीगलौच भएको थियो ।
आर्थिक चलखेल गर्ने सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा उल्टै प्रहरी तैनाथ गरेर सेवा प्रवाह गरिएकोप्रति जसपा मधेश प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई टेलिफोन गरेर आपत्ति जनाएका थिए । कुराकानीमा यादवले पूर्वाधार विकास कार्यालयमा आर्थिक वर्षको अन्तिममा अनियमित ढङ्गले काम भइरहेको र त्यसमा प्रहरीले सुरक्षा दिएर गलत गरेको एसपी खड्कासँग भनेका थिए ।
असार १२ गते पूर्वाधार विकास कार्यालय मलङ्गवामा केही व्यक्ति आएर विभिन्न योजनाको फाइल खोसेर लगेपछि प्रहरी परिचालन हुँदै आएका थिए । जसपाका मधेश प्रदेश अध्यक्ष यादवकै नेतृत्वमा फाइल खोसेर लगिएको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राईका अनुसार १२ गतेको घटनापछि असार १३ गतेदेखि पूर्वाधार विकास कार्यालयमा निरन्तर प्रहरी तैनाथ गर्ने गरिएको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवामा योजना बिक्री, योजनाको रकम भुक्तानीलगायत काममा व्यापक आर्थिक चलखेल हुने गरेको गुनासो व्यापक रुपमा आइरहेकै छ ।
आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि यादवले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आम जनताको गुनासो र आवाजलाई सम्बोधन गर्न खोज्दा उल्टै आफूलाई फसाउन खोजिएको गुनासो पोखेका थिए । उनले पूर्वाधार कार्यालयका प्रमुख विजय यादव दिनभर रौतहटको चन्द्रनिगाहपुरमा बस्ने गरेको र राति कार्यालयमा आएर अनियमित हिसाबले चेक काट्ने काम गरिरहेको प्रति आपत्ति जनाउँदा प्रहरी प्रशासन नै आफूविरुद्ध लागेको आरोप लगाएका छन् ।



