Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

चिकित्सकीय लापरबाहीको मुद्दामा प्रमाण बुझ्न अदालतको आदेश

Zenith Migration Education

मोरङ जिल्ला अदालतले गलत औषधीको प्रयोगका कारण बिरामीको मृत्यु भएकाले क्षतिपूर्ति माग गर्दै दायर भएको मुद्दामा प्रमाण बुझ्ने आदेश गरेको छ ।

नोबेल हस्पिटल एण्ड मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा असम्बन्धित चिकित्सकले अनधिकृत रूपमा सिफारिस गरेको औषधीका कारण सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएको विषयमा दायर भएको मुद्दाको पहिलो सुनुवाइमा आइतबार जिल्ला अदालत मोरङले यो आदेश जारी गरेको हो ।

जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले अस्पतालमा उपचार गर्दा २०८१ साल माघ १० देखि २० गतेसम्मका सम्पूर्ण सक्कल कागजात र मृत्युको कारणसहितको फाइल नोबेल हस्पिटलबाट माग गर्न आदेश दिएको अधिवक्ता मानबहादुर रुम्दाली राईले जानकारी दिए ।

यसैगरी मृतक विमला थापा पोखरेलको उपचारमा प्रयोग भएको मोर्फिन इएनबी औषधीको कम्पोजिसन र सो औषधी कुन रोगको उपचारका लागि प्रयोग हुने हो भन्ने विषयमा नेपाल मेडिकल काउन्सिलबाट जानकारी माग्नू भनि आदेश गरिएको छ । अदालतले दुवै पक्षका साक्षी बुझी बकपत्रसमेत गर्न आदेश जारी गरेको छ ।

फोक्सो एवम् श्वासप्रश्वासका विशेषज्ञ डा. रामहरि घिमिरेले ढाडको दुखाइ कम गर्न भन्दै मोर्फिन नामक औषधी दिएकै कारण बिरामीको मृत्यु भएको भन्दै मृतक बिमलाका पति महेश्वर पोखरेलले जिल्ला अदालत मोरङमा गत चैत २० गते मुद्दा दर्ता गर्नुभएको हो । डा. घिमिरेले बिमलाको ढाडको दुखाइको उपचारका लागि मोर्फिन औषधी दिएका थिए ।

मोर्फिन एक शक्तिशाली पेनकिलर हो जुन श्वासप्रश्वासका बिरामीलाई दिन नहुने चिकित्सकहरू बताउँछन् । हाडजोर्नीको कडा दुखाइ र क्यान्सरजस्ता रोगबाट हुने पीडामा यो औषधी प्रयोग गर्ने गरिएको भए पनि डा. घिमिरेको विशेषज्ञताअनुसार उक्त औषधी प्रयोग गर्न नमिल्ने पीडित पक्षको जिकिर रहेको छ ।

मृतकका पति महेश्वर पोखरेलले संविधानको धारा ४२(२) र उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम पाँच करोड रुपियाँ क्षतिपूर्ति माग्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उपभोक्ता संरक्षण ऐनले चिकित्सा सेवामा लापरवाही भएमा क्षतिपूर्ति पाउने अधिकार प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु