सिड्नी। अष्ट्रेलियाको सिड्नीमा २१२औँ भानु जयन्ती मनाइएको छ । नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP) को आयोजनामा जुन २१ मा २१२औँ भानु जयन्ती मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियाली सांसद तथा न्यू साउथ वेल्स राज्य सरकारकी संसद सदस्य Julia Finn ले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवासमा संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यमा नेपाली समुदायको सक्रियता अत्यन्त प्रेरणादायी भएको बताइन् ।
कार्यक्रमका विशेष अतिथि अष्ट्रेलियास्थित नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई आम जनतासम्म पुर्याएर एकताको सूत्रमा बाँध्ने कार्य गरेको बताए । उनले यस्ता कार्यक्रमहरू प्रवासमा रहँदा आफ्नो पहिचान जोगाउन थप मद्दत पुग्नेमा जोड दिए ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भानुभक्त आचार्यको सम्झना गर्दै प्रवासमा आफ्नो मौलिक संस्कृति र भाषा बचाउनु हामी सबैको साझा जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा नेपाली साहित्य र भाषाको संरक्षण तथा प्रवर्द्धनमा दीर्घकालीन योगदान दिएकी जनकी रिमाल पौडेल तथा युबा कलाकार सम्राट गुरुङलाई यस वर्षको प्रतिष्ठित ‘भानु सम्मान–२०८२’ प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका साहित्यकार ज्ञानु वाकर पौडेल लगायतले भानुकाे सम्झनामा कविता वाचन गरेका थिए । कार्यक्रममा सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएकफ थियो ।
कार्यक्रममा NRNA अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्ष नन्द गुरुङ, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपति गुरुङ, समाजसेवी देव बहादुर गुरुङ, ANJA अध्यक्ष कृष्ण तिवारी र अन्य विशिष्ट प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ANJA सल्लाहकार डा. राजु मानन्धरले नेपाल भाषा (नेवारी) मा र हेमुपति गुरुङले गुरुङ भाषामा कविता वाचन गरी कार्यक्रमलाई बहुभाषिक विविधताको आभास दिएका थिए ।
उक्त अवसरमा चित्रकार राजेश मानन्धरको सम्मान र एकल चित्रकला प्रदर्शनीसमेत गरिएको थियो । ललितकला क्याम्पस, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक, ख्यातिप्राप्त पानीरङ चित्रकार तथा व्यङ्ग्यचित्रकार राजेश मानन्धरलाई नेपाली चित्रकला क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर सम्मान गरिएको थियो । कार्यक्रममा मानन्धरको नेपाल तथा अष्ट्रेलियामा सिर्जित उत्कृष्ट पानीरङ चित्रहरूको एकल प्रदर्शनीका रूपमा सार्वजनिक गरिएको थियो, जसले नेपाली कलाको मौलिक सौन्दर्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा NKSSP की अध्यक्ष सुजाता बस्नेत के.सीले प्रवासमा यस्ता कार्यक्रमहरू नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जीवन्त अभियान भएको उल्लेख गर्दै अतिथि र स्वयंसेवक लगायत प्रायोजकलाई धन्यवाद दिइन् ।



