Zenith Migration Education
Friday, July 11, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

कैलाली कारागारमा कैदी युवकको रहस्यमय मृत्यु

Zenith Migration Education

कैलाली जिल्ला कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएको छ ।

बैंकिङ कसुर मुद्दामा कैद सजाय काटिरहेका डडेल्धुराका २८ वर्षीय हरीश पालीको मृत्यु भएपछि उनका आफन्तले कारागारभित्रै कुटपिट गरी हत्या गरिएको गम्भीर आरोप लगाएका छन् ।

कारागार प्रशासनका अनुसार सोमबार राति करिब साढे १० बजे पालीलाई आफ्नो कोठामा अचेत अवस्थामा फेला पारिएको थियो । तत्कालै उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले जानकारी दिए । जेलर तिमिल्सिनाका अनुसार अस्पताल पुर्‍याउँदा पालीलाई अत्यधिक ज्वरो आएको र रक्तचाप निकै कम भएको थियो ।

तर, मृतकको मुख, खुट्टा र शरीरका विभिन्न भागमा चोटपटकका निशानहरू देखिएपछि घटनाले नयाँ मोड लिएको छ । यही चोटपटकलाई आधार बनाउँदै परिवारजनले पालीको मृत्यु स्वाभाविक नभई हत्या भएको दाबी गरेका छन् । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य बाहिर नआएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

पालीको शव हाल सेती प्रादेशिक अस्पतालमै राखिएको छ । पालीलाई जिल्ला अदालत कैलालीले २०८० सालमा बैंकिङ कसुर मुद्दामा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि फरार रहेका उनलाई कैलाली प्रहरीले यही असार १ गते पक्राउ गरी कारागार चलान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery