Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग, प्रतिनिधि सभा बैठक स्थगित

Zenith Migration Education

राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ ।

बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

सांसद शर्माले सरल रूपमा छानबिनको प्रक्रिया अगाडि बढाउन नैतिकताको आधारमा राजीनामा दिएर गृहमन्त्री लेखकले सहयोग गर्नुपर्ने माग गरे ।

‘निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर बाटो खुलाउनुपर्छ । कर्मचारी मात्रै दोषी भए पनि छानबिनमा सहयोग गर्न राजीनामा दिएर मार्ग सहज बनाउनु पर्छ । यस विषयमा छानबिन गर्नुपर्ने र यसका लागि मन्त्री लेखकले राजीनामा दिनुपर्छ’, उनले भने, ‘छानबिनमा सत्तारुढ दल एमाले र कांग्रेसले पनि सहयोग गर्नुपर्छ ।’

प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित

प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेकाे छ । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो।

आज १ र पछि सवा ३ मा तय गरिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो। विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन्। सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन।

सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका थिए।

सदनमा पहिले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने भन्दै सत्तापक्षले बाँकी विषयमा त्यसपछि छलफल गरिने बताउँदै आएको छ। सत्तापक्ष यो अडानबाट पछि नहटेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा विपक्षी पनि अडिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु