Wednesday, March 11, 2026
Zenith Migration Education
Wednesday, March 11, 2026

शुक्रबार यता विपद्को घटनामा चार जनाको मृत्यु, २८ जना घाइते

Zenith Migration Education

विपद्का घटनामा परेर शुक्रबारयता देशभर चार जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।

प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एकजना घाइते भएका छन् । उनका अनुसार शुक्रबारदेखि शनिबारको २४ घण्टाको अवधिमा ५० जिल्लामा ९४ वटा विपद्का घटना भएका छन् ।

ती घटनाहरूबाट १ करोड आठ लाखको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जानकारी गराएको छ । ती घटनाबाट दुईवटा पशुचौपायसमेत मरेका छन् । प्राधिकरणबाट प्राप्त विवरणमा सबैभन्दा बढी हावाहुरीका ५९ र आगलागीका १६ वटा घटना भएका छन् । अन्यमा चट्याङ, पहिरो, बाढी, अविरल वर्षाका घटना भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही स्थानहरूमा गर्मीका कारण तथा केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिजोको तुलनामा आज भने केही मौसम खुले पनि बदली भने कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु