राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा पत्रकारिताको विकासतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।
बुधवार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति निवास शितल निवासमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
उनले सत्य तथ्य समाचारको माध्यमबाट जनतालाई सजग बनाउनु जिम्मेवार सञ्चारकर्मको दायित्व भएको बताए ।
उनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भुमिका महत्वपूर्ण भएको बताए । स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएन भने लोकतन्त्र पनि बलियो बन्न नसक्ने उनको भनाइ छ ।
उनले राष्ट्र निर्माणका लागि पत्रकारिता सशक्त र प्रभावकारी माध्यम भएको बताए । उनले संविधानको मर्म अनुसार सञ्चारकर्ममा पत्रकार सजग र सचेत बन्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक पत्रकारितले समाजमा भ्रम सिर्जना अग्रसर भएको बताए ।
उनले सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगमार्फत मिथ्या सूचना संप्रेषण हुनसक्ने भन्दै सजग हुनपर्नेमा जोड दिए ।
सामाजिक सञ्जालमा संप्रेसन भएका सामग्रीबाट आमसर्वसाधारणमा पार्नसक्ने भ्रमलाई चिरेर सही सूचना संप्रेषण गर्नु पत्रकारका लागि चुनौती भएको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाई जनअपेक्षा अनुसार सुशासन तथा समृद्धिमा सकारात्मक र रचनात्मक भुमिका खेल्नुपर्ने बताए ।