Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

ओलम्पियन दीपक विष्टलाई सिड्नीमा सम्मान

Zenith Migration Education

सिड्नी—नेपालका ख्यातिप्राप्त ताइक्वान्दो खेलाडी तथा ओलम्पियन दीपक विष्टलाई अष्ट्रेलियाको सिड्नीस्थित बैंकस्टाउनमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको छ। न्यू साउथ वेल्स ताइक्वान्दोका निर्देशक प्रकाश क्षेत्रीको विशेष निमन्त्रणामा, दीपक विष्ट १३ अप्रिलमा सम्पन्न न्यू साउथ वेल्स इन्टरनेशनल ओपन ताइक्वान्दो प्रतियोगिता २०२५ का अवसरमा नेपाली खेलाडीहरूलाई हौसला दिन तथा नेपालको प्रतिनिधित्व गर्न सिड्नी आएका थिए।

उक्त प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रवीण थापा र प्रेम लिम्बुले स्वर्ण पदक जिते भने कमल श्रेष्ठ र विकल पौडेलले रजत पदक हात पारेका थिए। ऋतिका गुरागाईंले पनि सहभागिता जनाएकी थिइन्। प्रतियोगिताको समापन समारोहमा अष्ट्रेलिया ताइक्वान्दोका अध्यक्ष डा. बिलाल एल्मोवीले नेपाली खेलाडीहरूलाई सम्मान गरेका थिए।

कार्यक्रममा नेपाल–अष्ट्रेलिया बीच ताइक्वान्दो खेलको आपसी सहयोग, विकास र समन्वयबारे छलफल भएको थियो। प्रकाश क्षेत्री, जो न्यू साउथ वेल्समा ६ वटा ताइक्वान्दो क्लबहरू सञ्चालन गरिरहेका छन्, स्वास्थ्य तथा फिटनेस क्षेत्रमा लामो समयदेखि पेशेवर रूपमा क्रियाशील छन्।

सम्मानित खेलाडी दीपक विष्ट दक्षिण एसियाली खेलकुद (SAG) मा लगातार चार पटक स्वर्ण पदक जित्ने पहिलो दक्षिण एसियाली खेलाडी हुन्। उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा नेपालको झण्डा बोकेका थिए। हाल उनी नेपाल ओलम्पियन संघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत तालिम विभागका निर्देशकका रूपमा कार्यरत छन्।

कार्यक्रममा ग्रान्भिल नेपाली समाजका अध्यक्ष भीम बस्नेत, गुरुङ समाज अष्ट्रेलियाका अध्यक्ष हेयुपति गुरुङ लगायतका समुदायका युवा अगुवा तथा खेलप्रेमीहरूको उपस्थिति थियो। उनीहरूले अष्ट्रेलियामा नेपाली खेलाडीहरूको बढ्दो उपस्थिति, क्षमता र सफलताको प्रशंसा गर्दै, सहकार्य र निरन्तरताको आवश्यकता औंल्याएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु