सिड्नी- सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ ।
एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा अष्ट्रेलियामा नारी निकुञ्जले आयोजना गरेको विशेष कार्यक्रमा अष्ट्रेलियाका लागि नेपाली राजदुत चित्रलेखा यादवले विश्वभरी रहेका महिलाहरुलाई शुभकामना व्यक्त गरिन् ।

शुभकामना दिदै राजदुत यादवले सबैभन्दा पहिले आफुलाई सशक्त बनाउनुपर्ने बताइन् । उनले भनिन् “महिला भनेकाे ममता र मायाका खानी हुन् । बिना ममता र बिना माया यो सृष्टि अगाडी बढ्दैन । याे संसारलाई जोडेर राख्ने सबैभन्दा बलियो धागो भनेकै ममता र माया हो ।”
उनले महिलामाथी हुने कुनै पनि भेदभाव नसहन आग्रह गर्दै महिलामाथि हुने भेदभाव र अत्याचारविरुद्ध सबैलाई बोल्न आव्हानसमेत गरिन् । उनले थपिन् ” महिलालाई अप्ठेरो पर्दा संघ र संगठनले सबैको हक अधिकार सुनिश्चिच गर्ने दायित्व पूरा गर्नुपर्छ ।”

महिल दिवसका अवसरमा सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन्।
विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ। यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।