Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

अवैध नेपाली आप्रवासीको स्वदेश फिर्ती, काठमाडौंमा अवतरण गर्दै अमेरिकी चार्टर्ड विमान

Zenith Migration Education

अमेरिका सरकारको कडा अध्यागमन नीतिअनुसार अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फिर्ता पठाउने क्रम जारी छ । गैरकानूनी रूपमा अमेरिकामा काम गरिरहेका तथा अध्यागमन अदालतबाट निष्कासन आदेश पाएका नेपाली नागरिक बोकेको अमेरिकी विमान काठमाडौंका लागि उडेको छ ।

अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाजमार्फत १० जना नेपाली नागरिक स्वदेश फिर्ता हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उक्त विमान काठमाडौं अवतरणका लागि अनुमति दिइएको छ । ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिम आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

जहाज अमेरिकाको न्यू ह्याम्पसायर राज्यस्थित पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडिसकेको छ । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा केही यात्रुहरू ओरालेर सो जहाज नेपालका लागि उड्ने बताइएको छ । त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि यी नेपालीहरूलाई अध्यागमन तथा अन्य आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमार्फत अभिभावकत्वमा जिम्मा लगाइनेछ ।

यसअघि मंसिर ३० गते अमेरिका सरकारले चार्टर विमानमार्फत १५ जना नेपालीलाई स्वदेश फर्काइरहेको थियो । पछिल्लो समय अमेरिकी अध्यागमन नीति अझै कडा बनाइँदा अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरू थप जोखिममा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेलगत्तै अवैधरूपमा अमेरिकामा बसिरहेका आप्रवासीलाई देशनिकाला गर्ने कडा नीति लागू गर्ने घोषणा गरेका थिए ।

नेपाल सरकार तथा सम्बन्धित निकायले अमेरिकी अध्यागमन नीतिका कारण आफ्ना नागरिकलाई पर्ने प्रभावको मूल्यांकन गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अध्यागमन मामिलासँग जोडिएका कानुनी सल्लाहकारहरूले नेपाली नागरिकलाई विदेश यात्रा गर्नुअघि आवश्यक कागजात पूरा गर्न र कानुनी प्रक्रिया पूरा गरेर मात्रै यात्रा गर्न सुझाव दिएका छन् ।

आगामी दिनमा अमेरिकाबाट थप नेपालीहरूलाई फिर्ता पठाइने सम्भावना रहेको अनुमान गरिएको छ । अमेरिकी अध्यागमन विभागले गैरकानुनी आप्रवासीहरूलाई लक्षित गर्दै व्यापक छानबिन गरिरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु