सिड्नी (अष्ट्रेलिया), ११ अप्रिल २०२६ — अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले प्रवासी नेपाली समुदायलाई पहिलोपटक भर्चुअल सम्बोधन गर्दै सरकारका प्राथमिकता, उपलब्धि र आगामी योजनाबारे विस्तृत जानकारी दिएका छन्।
शनिबार आयोजित कार्यक्रममा उनले सरकार गठनपछिका प्रमुख उपलब्धि, जारी कार्यक्रमहरूको प्रगति तथा ‘१०० दिन, १०० बुँदा’ कार्यक्रमअन्तर्गतका योजनाबारे चर्चा गरे। आगामी बजेट ‘क्रान्तिकारी र ऐतिहासिक’ हुने दाबी गर्दै उनले जेठ १५, २०८३ मा प्रस्तुत गरिने जानकारी दिए।

वाग्लेले रास्वपाको चुनावी घोषणापत्रअनुसार समृद्ध र रूपान्तरणकारी नेपाल निर्माण गर्ने प्रतिबद्धता दोहोर्याए। गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी विषयमा उनले मतदान अधिकारबाहेक दोहोरो नागरिकता दिने नीतिप्रति समर्थन जनाए। यसले विदेशमा रहेका नेपालीसँग सम्बन्ध सुदृढ गर्ने, लगानीको वातावरण सिर्जना गर्ने तथा सम्पत्ति अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको उनले बताए। साथै, सार्वजनिक सेवा प्रणालीलाई डिजिटल बनाउँदै परम्परागत सेवा प्रक्रियालाई हटाई अनलाइन प्रणालीमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने योजनाबारे पनि उनले उल्लेख गरे।

रास्वपा महामन्त्री तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य कबिन्द्र बुढाथोकीले पार्टीले विभिन्न समिति गठन गर्दै देशभित्रका उद्योग पुनर्जीवित गर्न सक्रिय रूपमा काम गरिरहेको बताए। उनले गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने प्रयाससहित अन्य औद्योगिक योजनामार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको जानकारी दिए। साथै, मन्त्रीहरूले आफ्नो काममा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै छिट्टै जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्ने विश्वास व्यक्त गरे।

प्रवास नेपाली सम्पर्क विभागका सचिव पदमराज पन्थीले फागुन २१ को निर्वाचनमा अष्ट्रेलियास्थित प्रवासी नेपाली सम्पर्क विभागले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै पार्टीलाई प्राप्त झण्डै दुई–तिहाइ बहुमतमा प्रवासी नेपालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले आगामी दिनमा पनि अष्ट्रेलियाबाट ज्ञान, सीप र अनुभवमार्फत नेपालको समृद्धिमा योगदान जारी रहने विश्वास व्यक्त गरे।
अमेरिका र युरोपका प्रवासी नेपाली सम्पर्क विभागका प्रतिनिधिहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान गरे। लक्जेम्बर्गका जितु थापा र संयुक्त राज्य अमेरिकाका दीपक सुनुवारले आफ्ना धारणा राखे। अष्ट्रेलियाबाट पीएनएसबीए भिक्टोरियाका गोपी थापा र पीएनएसबीए डब्लुए का राजेन्द्र श्रेष्ठले पनि कार्यक्रममा सम्बोधन गरे।

जेन–जी युवा नेता हिमाल पोखरेलले प्रवासी नेपाली युवाको अनुभवबारे भावुक धारणा व्यक्त गरे। उनले विदेशमा भाषा–संस्कृति संरक्षण, मानसिक दबाब, एक्लोपन, अध्ययन–काम सन्तुलन र पहिचानका चुनौतीबारे चर्चा गर्दै संघर्षले नेतृत्व जन्माउने बताए। हालै म्यारिल्यान्ड्समा भएको चक्कु आक्रमण घटनामा पीएनएसबीए र युवा समूहको सहकार्यमा समुदायले गरेको सहयोगलाई उनले उदाहरणका रूपमा प्रस्तुत गरे। युवाशक्तिको शक्ति उमेरमा नभई सोचमा हुने उनले उल्लेख गरे।
प्रशान्त फ्युयलले विद्यार्थीहरूले भोग्नुपरेका भिसा समस्या, राहदानी नवीकरणमा ढिलाइ तथा दूतावास सेवामा देखिएका कमजोरीबारे समाधानको माग गरे। युवा उद्यमी अवनी पौडेलले पनि अष्ट्रेलियामा रहेका नेपाली समुदायका समस्याबारे धारणा राखे।

कार्यक्रममा चितवन समाज अष्ट्रेलियाका संस्थापक बुद्धि डल्लाकोटी, एनआरएनए अभियन्ता सत्या कँडेल, साउथवेस्ट नेपाली समाजका अध्यक्ष चतुरभुज खरेल, समुदाय नेता चिरिङ शेर्पा तथा अष्ट्रेलियाका पूर्व विवेकशील साझा पार्टी अध्यक्ष रोशन भट्टराईलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन एनएसडब्लुएस पीएनएसबीएका सचिव सूर्य न्यौपानेले गरेका थिए। कार्यक्रम तीन चरणमा विभाजित थियो। पहिलो चरणमा परिचय तथा सुझाव संकलन गरिएको थियो, जसअन्तर्गत नयाँ सरकारका लागि सुझाव संकलन गर्न अनलाइन पोर्टल सार्वजनिक गरिएको थियो। उक्त कार्य उपेन्द्र अधिकारीको संयोजनमा सम्पन्न भएको थियो।

दोस्रो चरणमा अर्थमन्त्री, रास्वपा महासचिव तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले भर्चुअल सम्बोधन गरेका थिए भने तेस्रो चरणमा स्थानीय सहभागीहरूले प्रत्यक्ष धारणा राखेका थिए।
पीएनएसबीएका उपाध्यक्ष निराजन थापाले संगठनको स्थापना देखि हालसम्मको यात्राबारे जानकारी दिँदै नेपाल सरकार र अष्ट्रेलियास्थित नेपाली समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग अष्ट्रेलिया केन्द्रीय समितिको आयोजनामा तथा पीएनएसबीए प्रमुख डा. कृष्णकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य पीएनएसबीए एनएसडब्लुएसका संयोजक इन्जिनियर दिपेन्द्र उप्रेतीले दिएका थिए भने समग्र समन्वय पूर्व संयोजक तथा संरक्षक नागेन्द्र अधिकारीले गरेका थिए।

म्यारिल्यान्ड्स, सिड्नीमा आयोजित उक्त कार्यक्रम नेपाली नयाँ वर्ष २०८३ को भेटघाटसँग समेत जोडिएको थियो। कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली समुदाय, जेन–जी युवा, पूर्व विवेकशील साझा पार्टीका सदस्य, पत्रकार तथा एसिया, युरोप, अमेरिका, अष्ट्रेलियाका विभिन्न राज्य र खाडी मुलुकबाट भर्चुअल रूपमा सहभागीहरू जोडिएका थिए।












