Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

सिड्नीका युवा व्यवसायी म्याक्सलाई अष्ट्रेलियाका मन्त्रीले गरे सम्मान

Zenith Migration Education

सिड्नी-सिड्नीका युवा उद्यमी तथा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) लाई न्यू साउथ वेल्स (NSW) राज्य सरकारद्वारा विशेष सम्मान प्रदान गरिएको छ। साना व्यवसाय, भूमि तथा सम्पत्ति तथा बहुसांस्कृतिक मामिला मन्त्री स्टेफन क्याम्परले एक विशेष कार्यक्रमकाबीच म्याक्सलाई सम्मानपत्र प्रदान गरेका हुन्। 

मन्त्री स्टेफनको न्यू साउथ वेल्सस्थित कार्यालयमा आयोजित कार्यक्रममा उनले रकडेल क्षेत्रमा व्यवसायमार्फत पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै म्याक्सलाई एक सफल व्यवसायी तथा सामुदायिक अगुवाका रूपमा सम्मान गरेका हुन् । मन्त्री क्याम्परद्वारा जारी विज्ञप्तिमा केही महिना अघि न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्स समेतको उपस्थितिमा ‘Country Fresh Rockdale’ को औपचारिक उद्घाटन गरिएको स्मरण गर्दै उनले भने, “यो क्षण म्याक्सको व्यवसायिक सफलताको मात्र नभई सामुदायिक नेतृत्वका रूपमा उनको उचाइको अवसर हो।

उक्त सम्मान कार्यक्रममा न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्य दूत सञ्जीव शर्मा, गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल तथा समुदायका अन्य  अगुवाहरूको उपस्थिति रहेको थियो। गत सेप्टेम्बरमा उद्घाटन भएको उक्त व्यवसायलाई संसदको अभिलेखमा पहिले नै दर्ता गरिए पनि हालै मात्र सार्वजनिक गरिएको हो । 

मन्त्री क्याम्परले २३ वर्षको कलिलो उमेरमा नेपालबाट विद्यार्थी भिसामा अष्ट्रेलिया आएका म्याक्स बाबुले विभिन्न संघर्ष गर्दै सफल उद्यमी बन्न सफल भएकोमा प्रशंसा गरे। उनले म्याक्सको व्यवसायिक यात्रा र सामाजिक सेवाका कार्यहरूको पनि मूल्यांकन गर्दै Vision for Motivation जस्ता गैर-नाफामुखी संस्थामार्फत नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासीहरूलाई दिएको सहयोगको विशेष चर्चा गरेका छन् । 

सम्मान प्राप्त गरेपछि म्याक्सले सम्मानले आगामी दिनमा व्यवसाय र समुदायका लागि अझ राम्रो काम गर्दै अघि बढ्न अझ बढी ऊर्जा दिएको प्रतिक्रिया दिए।

लुक्ला टिभीसँगसमेत आबद्ध म्याक्सलाई अष्ट्रेलियाको कुनै पनि राज्य सरकारबाट औपचारिक रूपमा सम्मान प्राप्त गर्ने सम्भवतः नेपाली मुलका पहिलो सामाजिक अगुवाका रूपमा हेरिएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु