Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्ष निर्वाचित

Zenith Migration Education

नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को एशिया-प्रशान्त क्षेत्रको उपाध्यक्षमा निर्वाचित भएको छ। यो नेपालका लागि अत्यन्तै गर्वको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताएका छन्। शान्ति स्थापना कार्य लगायत राष्ट्रसङ्घमा नेपालको रचनात्मक भूमिका र विश्व संस्थाको उद्देश्यप्रतिको निष्ठाका कारण नेपाल यो पदमा चयन भएको उनले बताए।

चवन्न सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन्। आगामी वर्ष नेपाल एशिया-प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ।

परिषद्मा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन्। पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चयन भएको संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ। परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ। अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिने पनि केन्द्रले जनाएको छ।

यसैबीच, राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा परिषद्को कार्यादेश अनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अघिल्लो वर्षको जुनमा एशिया-प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी सन् २०२४-२०२६ का लागि नेपाल परिषद्को सदस्य निर्वाचित भएको थियो। सामाजिक-आर्थिक विकासका माध्यमबाट समृद्धि हासिल गर्ने उद्देश्यले राष्ट्रसङ्घको बडापत्र अनुसार सन् १९४५ मा परिषद् स्थापना भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु