Saturday, May 9, 2026
Zenith Migration Education
Saturday, May 9, 2026

विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

Zenith Migration Education

गोदावरी (कैलाली): नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको हो । प्राधिकरणले चालु आवको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका नौवटै जिल्लाका तीन हजार सात सयभन्दा १२ जना ग्राहकको लाइन विच्छेद गरेको जनाएको छ ।

सुदूरपश्चिमका नौवटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले लाइन विच्छेद गर्न थालेको नेपाल विद्युत् प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार चालु आवको सो अवधिमा रु छ करोड ३५ लाख बक्यौता रकममध्ये लाइन विच्छेद गरेर रु चार करोड ५० लाख महसुल असुल गरिएको छ ।

लामो समयदेखि महसुल तिर्न अटेरी गर्दै आएका ग्राहकलाई महसुल तिर्न पटकपटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेपछि बाध्य भएर लाइन विच्छेद गर्नुपरेको निर्देशक चन्दले बताउनुभयो । सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट रु छ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन विच्छेद गरिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका तीन हजार सात सय १२ ग्राहकमध्ये दुई हजार पाँच सय ६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेका छन् भने लाइन विच्छेद गरिएका एक हजार एक सय ५० ग्राहकले अझै लाइन जडान नगरेको निर्देशक चन्दले जानकारी दिनुभयो ।

सुदूरपश्चिमका नौ जिल्लामा १२ वितरण केन्द्रबाट विद्युत् सेवा प्रदान गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सुदूरपश्चिममा हालसम्म तीन लाख ६७ हजार दुई सय ७० ग्राहक छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा विस्तार हुन नसकेका स्थानमा ठेक्का सम्झौता भएर विद्युतीकरण विस्तारको काम भइरहेकाले हरेक वर्ष प्राधिकरणका ग्राहकको सङ्ख्या पनि बढ्दै गएको निर्देशक चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु