Zenith Migration Education
Saturday, March 15, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन

Zenith Migration Education

नेपालगञ्ज: नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमन गरेर कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखा प्रमुख प्रवीण रानाले अनुगमनका कममा दिएको निर्देशन पालना नगरे आगामी आर्थिक वर्षमा पालिकाभित्रका सहकारीलाई खारेजीसम्मका प्रक्रियामा लैजान सकिने जानकारी दिनुभयो । “बैठक समयमा नबसेको, ऋण दिँदा कागजात नमिलेकोलगायत विभिन्न समस्या देखिएका छन्”, प्रमुख रानाले भन्नुभयो । उहाँले ऋणीले रकम फिर्ता नगर्दा बचतकर्ताले बचत नपाएको अवस्था पनि रहेकाले त्यसलाई सुधार गर्न निर्देशन दिइएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्र एक सय १२ सहकारी छन् । तर उपमहानगरपालिकाले सम्पर्कमा आउन गरेको सूचनामा जम्मा ६९ सहकारी मात्रै सम्पर्कमा आएको बताइएको छ । “निष्क्रिय सहकारी निश्चित गरेका छैनौँ, एकपटक फेरि सूचना जारी गरेर निष्क्रियलाई खारेजीको प्रक्रियामा जान्छौँ”, सहकारी शाखा प्रमुख रानाले भन्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले बचत तथा ऋण सहकारीको अनुगमनलाई प्राथमिकता दिएको छ । सहकारी शाखा प्रमुख राना प्रत्येक वर्ष एकपटक सहकारीमा पुग्ने योजना रहे पनि जनशक्ति अभावले सम्भव नभएको बताउनुहुुन्छ । “बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा चालु आवको अन्त्यसम्म पुग्ने प्रयास गरिनेछ”, उहाँले भन्नुभयो ।

उपमहानगरपालिकाको सम्पर्कमा रहेका आधा बढी सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । उपमहानगरपालिकाले सहकारी सुधार अभियानअन्तर्गत नगरभित्रका सहकारीको अनुगमन गरिरहेको छ । चालु आवमा १५ सहकारीमा अनुगमन भइसकेको छ । सहकारी अनुगमनका लागि सहकारी शाखा प्रमुखको नेतृत्वमा अनुगमन समिति निर्माण गरिएको छ । उहाँले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको उल्लेख गर्दै लापरबाही भेटिए सहकारी ऐनबमोजिम कारबाही गरिने प्रष्ट पार्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’ मा जानुको विकल्प छैन ।” नेपालगञ्ज उपमहानगरपालिकाले चालु आवमा नियमन क्षेत्रभित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास तालिम पनि दिएको थियो । उपमहानगरपालिकाको सहकारी शाखाले सहकारी तथा गरिबी निवारण व्यवस्थापन सूचना प्रणाली तालिम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic