Zenith Migration Education
Sunday, May 18, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

Zenith Migration Education

खोटाङ: पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुङ्गा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले राससलाई बताउनुभयो । “मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ । वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)ले सहकार्य गरेको छ । निर्माणाधीन रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुन्छ ।” जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन् भने केही ठाउँमा धमाधम निर्माण भइरहेका छन् । जिल्लामा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये पाँचवटा डिभिजन वन कार्यालय तथा दशवटा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)को सहकार्यमा निर्माण हुनेछन् । डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी रु दुई लाख ५० हजार तथा डिसिआरएलले निर्माण गर्ने पोखरीका लागि रु दुई लाख ३५ हजार बजेट विनियोजन भएको छ । रिचार्ज पोखरीले मुहान संरक्षण हुनुका साथै मुहानमा पानीको मात्रा बढ्नेमा आफूहरु विश्वस्त रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताउनुभयो ।

डिभिजन वन कार्यालयले यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरेको थियो । पोखरी निर्माणले पर्यायवरण संरक्षणमा सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राईले बताउनुभयो । बिरुवा वितरण यसैबीच डिभिजन वन कार्यालय खोटाङले यस वर्ष विभिन्न प्रजातिका ८० हजार बिरुवा गाउँलेलाई वितरण गर्ने तयारी गरेको छ । कार्यालयको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत डालेघाँस, धुपी सल्ला, तेजपत्ता, जाकाराण्डालगायत विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा उत्पादन गरेर वितरण हुन लागेको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भाँडबेँसीमा ४० हजार खयरका बिरुवा उत्पादन गरिएको छ । प्रतिगोटा रु १० का दरले सामुदायिक वन उपभोक्ता समितिलाई भुक्तानी दिनेगरी खयरका बिरुवा उत्पादन गर्न लगाइएको डिभिजन प्रमुख दाहालले जानकारी दिनुभएको छ । डिभिजन वन कार्यालय खोटाङ तथा सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेका बिरुवा यसै वर्ष वितरण गरिने जनाइएको छ । उत्पादित बिरुवा सामुदायिक वन उपभोक्ता समितिलाई निःशुल्क उपलब्ध गराइने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery