काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको आवधिक प्रतिवेदनका लागि सरोकार भएका निकायसँग सुझाव लिएको छ । मन्त्रालयले पहिलोपटक पेश गर्न लागेको प्रतिवेदनका लागि सरोकार भएका सरकारी, गैरसरकारी र सांस्कृतिक क्षेत्रका विज्ञसँग तीन दिने राष्ट्रिय परामर्श गोष्ठी गरी सुझाव लिएको हो । जेठ २० गतेदेखि सुरु भएको परामर्श गोष्ठी आज समापन भएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरस श्रेष्ठले अभौतिक सांस्कृतिक सम्पदाका विषयमा नीतिगत र कार्यान्वयनको काम दुवै मन्त्रालयले गर्ने भएकाले चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले विज्ञसँग लिएको सुझावका आधारमा यही जुन १५ गतेदेखि प्रतिवेदन पेश गर्न सुरु गरिने जानकारी दिनुभयो । जुन १५ मै प्रतिवेदन पेश गरी एसिया प्रशान्त क्षेत्रकै उदाहरणीय काम गर्न लागेको उहाँले सुनाउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा यो महासन्धि पारित गरेको थियो । सन् २००६ देखि कार्यान्वयनमा आएको महासन्धिलाई नेपालले भने सन् २०१० मा अनुमोदन गरेको थियो । अनुमोदन गरेको छ वर्षपछि प्रतिवेदन पेश गर्नुपर्ने नियमअनुसार तयारी गरिरहेका बेला संयुक्त राष्ट्रसङ्घले यससम्बन्धी निर्देशिका परिवर्तन गरेको थियो ।
निर्देशिका परिवर्तन गरेको छ वर्षपछि प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था बमोजिम यो वर्ष मन्त्रालयले प्रतिवेदन पेश गर्न लागेको हो । गोष्ठीमा अमूर्त सांस्कृतिक सम्पदाका क्षेत्रमा काम गर्ने सरकारी एवं गैरसरकारी क्षेत्रका प्रतिनिधि र विज्ञ गरी ३६ जनाको सहभागिता रहेको मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बास्कोटाले बताउनुभयो । प्रतिवेदन यही जुन १५ देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)मा पेश गर्न प्रारम्भ गरिने उहाँले जानकारी दिनुभयो । आगामी डिसेम्बर १५ सम्म नेपालले अमूर्त सांस्कृतिक सम्पदा क्षेत्रमा भए गरेका कामको विवरण युनेस्कोमा पेश गरिसक्ने जनाइएको छ । युनेस्कोमा प्रतिवेदन पेश गरेसँगै नेपालका अमूर्त सांस्कृतिक सम्पदाको विवरण सूचीकरण पनि सुरु गरिने मन्त्रालयले जनाएको छ ।
नेपाल मूर्त, अमूर्त मौलिक सांस्कृतिक सम्पदामा धनी भएपनि अझैसम्म त्यसको सूचीकरण हुन सकेको छैन । अब सरकारले प्राथमिकताका साथ अभौतिक अर्थात् अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण गर्ने जनाएको छ । समापन कार्यक्रममा त्रिभुवन विश्वविद्यालय संस्कृति विषयका प्रा डा सन्ध्या खनाल पराजुलीले स्नातकोत्तर तहमा अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी पाठ्यक्रम तयार गरी प्राध्यापन गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।