Zenith Migration Education
Friday, March 28, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरद्वारा दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित)

Zenith Migration Education

काठमाडौँ: हालै पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेशराज जोशी र भिमप्रसाद ढकाल तथा प्राबिधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याललाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल गरी ४ जना वरिष्ठ प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी बोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामूहिक प्रयाससहित संगठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

सरुवा/काज भई जानु हुने प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले विभागीय रूपमा पाएको नीति निर्देशन तथा नेपाल प्रहरी कार्ययोजना २०८० अनुसार सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्त गर्नका लगि परिणाममुखी समन्वयका साथ सामूहिक प्रयाससहित इमानदार, उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक शुद्धीकरण र सुदृढीकरणलाई केन्द्रबिन्दुमा राखी प्रहरीको व्यवसायिकता झल्काउने गरी सकारात्मक सोचका साथ कार्यसम्पदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रहरी संगठनको विधि र मापदण्डलाई कार्यान्वयन गर्ने, सोही अनुसार कार्यसम्पादन गर्ने र सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी न्याय दिलाउन ध्यान दिनुपर्ने बताउनुभयो । संगठनलाई आँच आउने, विधि उल्लघंन गर्ने र संगठनको नीति विपरीत काम गर्ने जो कोही प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, प्रशासन विभागका प्रहरी नायव महानिरीक्षक केदार ढकालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery