Monday, January 19, 2026
Zenith Migration Education
Monday, January 19, 2026

२०८४ को निर्वाचनसम्म पुराना शक्तिले हामीलाई थिलथिलो पार्नेछन् : गृहमन्त्री लामिछाने

Zenith Migration Education

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेका कारण पुराना दलहरूले रास्वपाको बदनाम गर्ने र विभिन्न ढंगले हिलो छ्याप्ने गरेको बताएका छन् ।

कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ। तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन् ।’

इलाम उपनिर्वाचनको पूर्वसन्ध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

लामिछानेले भने, “पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन। पैसाको बलमा लोकतन्त्र किन्नेहरुलाई खबरदारी गर्न तपाईंहरुले बैशाख १५ मा घण्टीमा भोट हाल्नुपर्नेछ ।”

२०८४ को निर्वाचनसम्म आफूहरुलाई पुराना शक्तिहरुले थिलथिलो बनाउने बताउँदै उनले भने, “०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नुहोला । जनताको पक्षमा काम गर्नेहरुलाई झूठा मुद्दा लाग्छन्, उनीहरुको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाईंहरु त्यसले आत्तिनु पर्दैन ।”

नेपाली काँग्रेसले सहकारीको मुद्दा उठाएको बारे संकेतमा कुरा गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फ़साइएको बताए। त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाइएको उनको भनाइ थियो।

उनले भने, “अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरुलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु।”

यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए।

“मैले प्रत्येक महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाईंहरु प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्यो भन्नु हुन्छ । तपाईंहरु धेरै आत्तिनु हुँदैन । तपाईंहरु अर्को महिना सप्राइज कुरेर बस्नु होला आउँदैछ ।”

सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथि के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठूलै सरप्राइज आउने बताए।

उनले आफूहरु देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रुपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए। कार्यक्रममा रास्वपा उपसभापति तथा तनहुँका सांसद स्वर्णिम वाग्ले, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतले मन्तब्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु