Monday, May 25, 2026
Zenith Migration Education
Monday, May 25, 2026

कृषिमा उद्यमशीलता : कृषक र सरोकारवाला नै अन्योलमा

Zenith Migration Education

काठमाडौँ । योजनावद्ध प्रयास र धैर्यता गरे कृषिमा उद्यमशील बन्न सकिने सरोकारवालाले बताएका छन् । चितवनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ मा आयोजित छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा उद्यमशीलताको विषयमा कृषक र सरोकारवाला नै अन्योलमा रहेको बताएका हुन् ।

चितवनमा व्यावसायिक स्ट्रबेरी खेती गरिरहेका नेपाल एग्रोभाइन प्रालिका कार्यकारी निर्देशक सुशन देवकोटाले अरुले गरेको सफल कामको कपी गरेर छिटै लाभ कमाउन खोज्ने प्रवृत्ति नै उद्यमशीलताको बाधक रहेको बताए ।

देवकोटाले नेपालको नीतिगत अवरोधका कारण पनि कृषि उद्यमशीलतामा ढिलासुस्तीको अवस्था सिर्जना भएको उल्लेख गरे । विदेशबाट फर्केर कृषिमा लाग्नेका लागि पनि उनको फरक खालको सुझाव छ । ‘सफलता ढिला मात्र हात लाग्छ भनेर नेपाल आउनुपर्छ’ उनले भने, ‘अमेरिका बसेर आउनेले त्यहाँको जस्तो सिस्टम खोजे नआउनुभए हुन्छ ।’

सामाजिक उद्यमशील महिला नेटवर्क (सेवा) की कार्यकारी निर्देशक विष्णुकुमारी नेपाल (आचार्य) ले महिलाले चाहेमा सामाजिक र आर्थिक रूपमा परिवर्तन सम्भव रहेको बताइन् । छलफलमा बोल्दै उनले भनिन्, ‘मैले कृषिलाई उद्यम बनाएको छु । शिक्षणमा लामो समय लागेँ, कृषिमा पछि लागेँ । हामीसँग आबद्ध कृषकले धेरै उत्पादन गर्नुहुन्छ ।’

सामाजिक उद्यमशीलताको विकासका लागि नीति निर्माणमा विशेष ध्यान दिनुपर्ने सुझाव नेपालको छ । ‘हामीसँग धेरै साना किसान हुनुहुन्छ । उत्पादनमा सहयोग गर्नेदेखि प्राङ्गारिक उत्पादनको संकलन केन्द्र, आउटलेट नहुँदा बिक्रीमा चुनौती छ’ उनले भनिन् ।

बाँझो जमिन सदुपयोग गर्न सरकारको सहयोग आवश्यक रहने उनको भनाइ छ । जनज्योति मावि सुर्खेतका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले समाजले कृषिलाई हेर्ने दृष्टिकोणमै परिवर्तन गरेर मात्र कृषिमा उद्यमशीलताको विकास गर्न सकिने बताए ।

छलफलमा बोल्दै उनले कृषि उद्यममा स्कुले बालबालिकाबाटै लगाउन सकेमा मात्र भोलिका दिनमा उद्यमी जनशक्ति उत्पादन हुने बताए ।

छलफलमा बोल्दै शिक्षिका तथा उद्यमी कमला पराजुली तिवारीले महिलाले उद्यमशीलतामार्फत आर्थिक र सामाजिक रूपमा सक्षम बन्दै जाने बताइन् । ‘सहकारीको नेतृत्व लिएर अगाडि बढ्दा, आय आर्जन बढ्दै जाँदा परिवार र समाजले सकारात्मक रूपमा लिन थालेको छ’ उनले भनिन् ।

छलफलमा डेलिस डेरीका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सन्दीप पौडेलले उत्पादनलाई बजारीकरण गर्न रचनात्मक तरिकाले सोच्नुपर्ने बताए । सरकारले नीतिगत रूपमा पनि कृषि र खाद्यलाई गम्भीर रूपमा नलिएका कारण पनि यो क्षेत्रलाई सम्मानपूर्वक नहेरिएको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु