Zenith Migration Education
Friday, March 28, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

Zenith Migration Education

फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन् ।

फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थाल्नुभएको छ । उहाँसँग चिराइतो खेतीको लामो अनुभव छ । विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाउनुभएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लाग्नुभएको थियो ।

फक्ताङलुङ गाउँपालिकाभित्र नै धेरै चिराइतो उत्पादन गर्ने लिम्बूले वर्षमा ६५ मन (४० किलो) सम्म चिराइतो उत्पादन गर्नुहुन्थ्यो । लामो समय चिराइतोको बजार मूल्यामा ह्रास आएसँगै बिक्री गर्न समस्या भएपछि अलैँची बगान विस्तार गर्न लागेको उहाँले बताउनुभयो । लिम्बूले अहिले १२ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नका लागि तयारी गरिरहनुभएको छ ।

फक्ताङलुङ–६ लुङथुङका तीर्थ राई पनि अहिले हाल चिराइतोको बीउ छर्नमा व्यस्त हुनुहुन्छ । उहाँले खेताला खोजेर ३० रोपनी क्षेत्रफल झाडी फाँडेर चिराइतोका लागि जग्गा तयार गर्नुभएको छ । फाँडेको झाडीमा आगो लगाएर चिराइतो छर्नका लागि उपयुक्त जग्गा तयार गरेको राईले बताउनुभयो ।

“चिराइतोको बीउ तयार गरेको छु । अब एक हप्तापछि छर्ने योजना बनाउँदै छु”, राईले भन्नुभयो, “एक वर्ष त चिराइतो बिक्री नै भएन । त्यसपछि सबैले खेती गर्न छोडेका थिए । यस वर्ष गाउँमा नै प्रतिमन रु ४२ हजारसम्ममा खरिद गर्ने व्यापारी आउनुभयो । तर गाउँमा उत्पादन न्यून थियो ।”

चिराइतोको उचित मूल्य आउने आशमा राईले दुई वर्ष अगाडि २० रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नुभएको थियो । आउँदो कात्तिकसम्ममा बिक्री गर्न योग्य हुने राईले बताउनुभयो । गत वर्ष उहाँले १६ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नुभएको थियो । अहिले राईले ३० रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्न लाग्नुभएको छ ।

राईले भन्नुभयो, “अहिले लगाएको चिराइतो अबको २७ महिनामा उत्पादन हुने आशा छ ।”

केही समय किसानले चिराइतो खेती गर्न छोडेपछि अहिले बीउ पाउनसमेत मुस्किल परेको किसान बताउँछन् । विगत प्रशस्त मात्रमा पाईने चिरातोको बीउ अहिले प्रतिमाना रु दुई हजार ५०० मा खरिद बिक्री हुने गरेको छ ।

फक्ताङलुङ–५ हेल्लोक गाउँका रविन आङबोहाङले चिराइतो खेती गर्न छोड्नुभएको चार वर्ष भएको थियो । तर अहिले चिराइतो खेती गर्नका लागि उहाँ आठ रोपनी जग्गा तयार गर्नुभएको छ । “दुई वर्षयता चिराइतोको उचित बजार मूल्य पाइन थालेको छ । गाउँमा अहिले सबै चिराइतो खेती गर्ने तयारीमा छन् ।” आङबोहाङले भन्नुभयो, “अहिले बजार मूल्य राम्रो पाइने आशले गाउँका प्रायः सबै किसान खेती गर्न लागेका छन् ।”

चिराइतो छर्ने समय सुरु भएको छ । चिराइतोका लागि वनजङ्गल तथा झाडी फाँडेर १५ देखि २० दिन राख्नुपर्दछ । त्यसपछि सुकेको झाडीमा आगो लगाउनुपर्दछ । आगो लगाएको ठाउँमा केही दिनको अन्तरमा चिराइतो छर्नुपर्दछ । चिराइतोसँगै अन्य बालीसमेत किसानले लगाउने गर्दछन् । उनीहरुले मकै, घैया, कागुनी, लटेजस्ता रैथाने बाली लगाउने गर्छन ।

ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने किसानले चिराइतो खेती गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका, सिरिजङ्गा, सिदिङवा र मिक्वाखोला गाउँपालिका विशेष रुपमा चिराइतो उत्पादन हुन्छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ । जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस वर्ष निकासीमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा पाँच हजार आठ सय २० किलो चिराइतो निकासी भएको छ । आव २०७८÷७९ मा तीन हजार दुई सय ८० किलो चिराइतो निकासी भएको थियो ।

यस्तै आव २०७९÷८० मा पाँच हजार आठ सय किलो चिराइतो निकासी भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिनुभयो । विसं २०७० यता ताप्लेजुङमा ३८ हजार किलो चिराइतो सङ्कलन भएको तथ्याङ्क छ । सो अवधिमा चिराइतोबाट रु सात लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery