Zenith Migration Education
Saturday, March 15, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

वेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण

Zenith Migration Education

म्याग्दी: गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो । पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभयो ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते रु २३ करोड ७९ लाख ७२ हजार नौ सय ५१ मा ठेक्का सम्झौता गरेको थियो । कालिका–गजुरमुखी जेभीले विसं २०७६ चैतमा रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिनुभयो ।

सूचना अधिकारी चापागाईँका अनुसार २० मिटर लामो लोमान्थाङ खोला मोटरेबल पुल निर्माणका लागि रु चार करोड ६८ लाख दुई हजार छ सय ३८ मा ठेक्का सम्झौता भएको थियो । पचास मिटर लम्बाइको किम्लिङखोला पुलको लागत रु छ करोड ३० लाख, ५० मिटर लामो नाम्डोकखोला पुलको लागत रु छ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लागत रु छ करोड ८५ लाख रहेको छ ।

विसं २०७४ मा सुरु भएको दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।

यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ । थासाङ गाउँपालिकाको सेतोखोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन २०७३÷७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख धु्रव झाले बताउनुभयो । विभिन्न छ स्थानमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको २२ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic