Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ :डा.निकोलस भुसाल

Zenith Migration Education

काठमाडौं-रास्वपा सभापति रवि लामिछानेका समर्थक डा.निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन्।यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन्।

डा. भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए।बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ।

रविका समर्थकहरूले प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै आलोचना गरिरहेका छन्।तर भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् ।’यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु।’

भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन्।रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ।

‘भाइरल गराउँछु भन्ने सोचेर, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टीकरण उनले दिएका छन् ।

गृहमन्त्री भइसकेको व्यक्ति अहिले यो अवस्थामा पुगेको भनेर वास्तविकता बाहिर ल्याउन मात्र खोजेको उनको भनाइ छ । हिरासतमा कस्तो अवस्थामा बसिराख्नु भएको छ त भनेर बुझाउनका लागि त्यो फोटो खिचेको थिएँ ।

कास्की प्रहरीले भने रविको भनिएको भाइरल फोटोको वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ।

कानुनका जानकारहरूका अनुसार यसरी अनुमति विना कसैको फोटो खिच्न र सार्वजनिक गर्न पाइँदैन । अधिवक्ता विनोदमणि भट्टराई भन्छन्, ‘कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ। मुलुकी संहितामै यो व्यवस्था छ।न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु